`

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

Nepal One HD १४ वैशाख २०८३ १८:३२
समाचार

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर। कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न स्थानीयले आग्रह गरेका छन् ।

आज सीमा क्षेत्रको अनुमगनमा आएका तीनै तहका जनप्रतिनिधि सम्मिलित टोलीसँग स्थानीयले क्वारेन्टाइन स्थपना, सीमाबाट भित्रिने लागुऔषध नियन्त्रणलगायत समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

अनुगमन टोलीमा सहभागी प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, प्रदेशसभा सदस्यद्वय लक्ष्मणकिशोर चौधरी, ललिता सुनार र टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीसँग स्थानीयले आफ्ना समस्याबारे गम्भीर भइदिन आग्रह गरेका थिए ।

टीकापुर— ८ बटनपुरका उमेश साउदले खाद्य क्वारेन्टाइन नभएकाले सीमा नजिक भएका नागरिकले भारतबाट भन्सार तिरेर आलु, प्याजलगायत खाद्यान्न ल्याउन नपाएको गुनासो गर्नुभयो । “क्वारेन्टाइन भए यहीबाट परीक्षण गरेर आवश्यक खाद्यान्न ल्याउन सकिन्थ्यो, हाल स्थानीय नागरिक र व्यापारीलाई यो बाटोबाट सामान ल्याउन कठिन छ”, उहाँले भन्नुभयो,“सत्ती भन्सारमा आवश्यक पूर्वाधार विकास गरेर समस्या समाधानका लागि आग्रह गरेका छौँ ।”

स्थानीय व्यापारी टङ्कप्रसाद ढुङ्गानाले तीनै तहका जनप्रतिनिधि सहभागी भएको उक्त टोलीलाई सीमा समस्या र सत्ती भन्सार कार्यालयको विकासका लागि आवश्यक सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ, टीकापुरका सचिव प्रकाश शाहले तीनै तहका सरकारले भन्सार विकासका लागि ध्यान दिनुपर्ने बताउनुभयो । “टीकापुरका व्यापारीले खाद्य तथा पशुसम्बन्धी सामान ल्याउँदा गुणस्तर जाँच्न धनगढीको बाटो भएर ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, ‘‘रु एक सयभन्दा माथिको भन्सार लाग्ने निर्णय जसरी कार्यान्वयन गर्नुभएको छ, त्यसैगरी अन्य विषयमा पनि कडाइ गरेमा यसले दीर्घकालीन रूपमा नेपाली व्यापारी र उपभोक्ता दुवैलाई फाइदा गर्छ ।’’

नगरपालिका— ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले मोहना नदीको पुल पारी दशजगा क्षेत्रमा नेपालीको केही जमिन परेकाले त्यहाँसम्म पुग्ने बाटो निर्माणका लागि आग्रह गर्नुभयो । उहाँले सशस्त्र द्वन्द्वका क्रममा सत्तीबाट विस्थापित भएको पशु क्वारेन्टाइन पुनःस्थापना हुन नसकेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सत्ती भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीले यहाँ पशु, खाद्य तथा प्लान्ट क्वारेन्टाइन भएमा राजश्व सङ्लनमा समेत वृद्धि हुने बताउनुभयो । “आवश्यक क्वारेन्टाइन नभएकाले यो बाटोबाट धेरै सामान आउँदैन, जसले राजस्वमा असर परिरहेको छ”, उहाँले भन्नुभयो ।

त्यसक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगार्जीले भन्सारलाई व्यवस्थित बनाउन आवश्यक कार्यालय र पूर्वाधार निर्माणमा सघाउन अनुरोध गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले मूल भन्सार भए पनि सोअनुसार विकास हुन नसकेकाले सङ्घीय सरकारको समन्वयमा तीनै तहका सरकारले आवश्यक काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य ज्ञवालीले स्थानीयका माग लिएर संसद्मा आवाज उठाउने, क्वारेन्टाइन स्थापनाका लागि बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “सत्ती भन्सारको विकास, सीमा क्षेत्रका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्नेछु । सबै मिलेर यहाँका समस्या समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश डाँगी र सीमास्थित ‘विओपी’ कार्यालयका सशस्त्र प्रहरी प्रमुख देवराज विष्टले आफूहरूले सीमा क्षेत्रमा हुने अवाञ्छीत गतिविधि नियन्त्रणमा ध्यान दिइरहेको बताउनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *