गाउँपालिकाले छलफलमा नबोलाएपछि अनसन बस्दै भण्डारी
दाङ। दाङ गढवा गाउँपालिकाका जेनजी अभियन्ता सन्देश भण्डारी क्षेत्रीले आमरण अनशन बस्ने घोषणा गरेका छन्।
गाउँपालिकाले विभिन्न विवादास्पद विषयमा पटकपटक पत्राचार हुँदा पनि छलफल नगरी एकल निर्णय गरेको र आवश्यक सूचना समेत उपलब्ध नगराएको आरोप लगाउँदै उनले तीन दिनको अल्टिमेटम दिएका थिए। सो अवधिमा माग सम्बोधन नभएपछि उनले अबको आन्दोलन जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा केन्द्रित हुने बताएका छन्।
भण्डारीले देउखरी क्षेत्रका जनतालाई सम्बोधन गर्दै गाउँपालिकाप्रति विश्वास गुमेको र अन्यायले युवापुस्तालाई गहिरो चोट पुर्याएको उल्लेख गरेका छन्। उनले सर्वहारा वर्गले भोगेको पीडामा आफूहरू एकजुट रहेको र न्यायको पक्षमा उभिने स्पष्ट पारे। उनका अनुसार देशमै अन्यायको अवस्था देखिएको र जनप्रतिनिधिहरूले विवादास्पद विषयमा आफ्ना कार्यकर्तालाई जोगाउन खोजेको आरोप समेत लगाइएको छ।
उनले जेठ १८ गते बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय दाङको प्राङ्गणमा आमरण अनशन सुरु गर्ने घोषणा गर्दै युवा, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालाहरूलाई साथ दिन आह्वान गरेका छन्। अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध आवाज उठाउन आफू दृढ रहेको उनले बताएका छन्।
