कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा बीपीसहित अग्रणी नेताहरूकाे शालिकमा माल्यार्पण
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुन्दरीजल पुगेर कांग्रेसका संस्थापक नेता बी.पी. काेइरालासहित प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताहरूकाे शालिकमा माल्यार्पण गरेका छन् । नेताहरूकाे याेगदानकाे स्मरण गर्दै उनले शीर निहुर्याए ।
मंगलबार दिउँसाे सङ्ग्रहालय पुगेका आङ्देम्बेले प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका नेता बीपीसँगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, आफ्ना माइला ठूलाे बुबा प्रेमराज आङ्देम्बे, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र र देवानसिंह राईलगायतप्रति पनि श्रद्धाञ्जली व्यक्त गरे ।
सङ्ग्रहालय परिसरमा रहेको स्मारक तथा शालिकहरूमा पुष्पगुच्छा अर्पण गर्दै उनले ती नेताहरूले देखाएको त्याग, बलिदान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनलाई आजको पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार, नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको इतिहास ती नेताहरूको संघर्षबिना अधुरो हुने थियो।
त्यस अवसरमा आङ्देम्बेले सुन्दरीजल कारागारको ऐतिहासिक महत्वबारे समेत जानकारी लिए ।
उनले तत्कालीन निरङ्कुश शासनका बेला नेताहरूलाई बन्दी बनाइ राखिएको कोठाहरू, उनीहरूले प्रयोग गरेका सामग्री तथा सङ्ग्रहालयमा सुरक्षित ऐतिहासिक दस्तावेजहरूको अवलोकन गरे ।
ती कोठा र सामग्रीहरू अवलोकन गर्दा उनी गम्भीर र भावुक मुद्रामा देखिए।
नेताहरूले जेल जीवनका क्रममा भोगेका कठिनाइ, उनीहरूको अदम्य साहस र लोकतन्त्रप्रतिको प्रतिबद्धताले आजको राजनीतिक यात्रालाई प्रेरणा दिने आङ्देम्बेको भनाइ थियो। त्यस अवसरमा नेता आङ्देम्बेले वृक्षाराेपणसमेत गरेका थिए ।











