`

चट्याङका कारण ३९ भेडाबाख्रा मरे

Nepal One HD १७ वैशाख २०८३ १३:०८
अर्थ समाचार

बाजुरा। बाजुरामा चट्याङ र पहिरोका कारण भेडाबाख्रामा ठूलो क्षति पुगेको छ। बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा चट्याङ लागेर मरेका छन्।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा पानी परेपछि ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी चौकी स्वामीकार्तिकबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

यसैबीच मंगलबार पनि जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशुचौपायामा क्षति पुगेको छ। जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीमा पहिरो जाँदा १३ बाख्रा मरेका छन् भने ३८ भेडाबाख्रा बेपत्ता भएका छन्।

त्यसैगरी त्रिवेणी नगरपालिका-९ पैमाको खोया लेकमा स्थानीय कूलबहादुर साउँदका ३ बाख्रा गोठमै चट्याङ लागेर मरेका छन्।

लगातारको वर्षा, पहिरो र चट्याङका घटनाले जिल्लाका ग्रामीण क्षेत्रमा पशुधनमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *