शेखर समूहमा सर्वोच्चको फैसला मान्ने विषयमा छलफल, १५औँ महाधिवेशन केन्द्रमा
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहमा सर्वोच्च अदालतको फैसलालाई मानेर अघि बढ्ने विषयमा छलफल भएको छ। बिहीबार नेता कोइरालाले आफ्नोपक्षीय बागमती प्रदेशस्तरीय भेला आयोजना गरेका थिए।
भेलामा देशभरका कांग्रेस केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। सहभागी एक नेताका अनुसार निष्पक्ष रूपमा १५औँ महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने र पार्टीलाई कमजोर बनाउने गतिविधितर्फ नलाग्नुपर्ने विषयमा जोड दिइएको थियो।
उनका अनुसार वडास्तरमै गएर क्रियाशील सदस्यता नवीकरण गर्ने प्रस्ताव व्यावहारिक नभएको धारणा अधिकांश नेताले राखेका थिए। नवीकरण प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको दाबी समेत गरिएको थियो।
भेलामा सहभागी नेताहरूले १५औँ महाधिवेशनमा नेता शेखर कोइरालाले नेतृत्व लिनुपर्ने सुझाव दिएका थिए। तर कोइरालाले व्यक्तिगत विषयमा केन्द्रित नभई पार्टीभित्र व्यापक सुझाव संकलन गर्ने प्रतिक्रिया दिएका थिए।
बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद तथा पूर्वसांसद, प्रदेश सांसद र प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईं, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा लगायतका नेताहरू सहभागी थिए।
यसैगरी संघीय सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, बागमती प्रदेशका पदाधिकारी तथा सदस्यहरू, विभिन्न जिल्लाका सभापतिहरू, प्रदेश सांसद, पूर्वसांसद तथा स्थानीय तहका जनप्रतिनिधिसहित करिब १२३ जनाको सहभागिता रहेको जनाइएको छ।
