२५ दिने ‘एसईई रोबो बुटक्याम्प २०८३’ सञ्चालन, यसरी सहभागी हुनुहोस्
काठमाडौं। रोबोटिक्स शिक्षा प्रदायक कम्पनी ‘रोबोआरम्भ’ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि २५ दिने ‘एसईई रोबो बुटक्याम्प २०८३’ सञ्चालन गर्ने भएको छ। आगामी ३ जेठदेखि सुरु हुने कार्यक्रमका लागि अनलाइन आवेदन खुला गरिएको छ।
रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आइओटी) क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम ल्याइएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल कोइरालाका अनुसार विज्ञहरूले प्रत्यक्ष प्रशिक्षण दिने यो कार्यक्रमले नयाँ पुस्तालाई आधुनिक प्रविधिसँग जोड्ने र प्रयोगात्मक सीप विकास गर्ने लक्ष्य राखेको छ।
दैनिक दुई घण्टाका दरले कुल ५० घण्टा सञ्चालन हुने बुटक्याम्पमा विद्यार्थीहरूले रोबोटिक्सका विभिन्न पक्षहरू सिक्नेछन्। पाठ्यक्रमलाई बेसिक रोबोटिक्स १६ घण्टा, आइओटी १४ घण्टा, एप्लाइड एआई तथा एज सिस्टम १४ घण्टा र साइबर हाइजिन ६ घण्टामा विभाजन गरिएको छ।
कार्यक्रमका लागि कुल आवेदकमध्ये १६ जना विद्यार्थी मात्र छनोट गरिनेछ। इच्छुक विद्यार्थीले अनलाइन फारममार्फत आवेदन दिनुपर्नेछ।
यस बुटक्याम्पको शुल्क प्रतिविद्यार्थी १६ हजार रुपैयाँ तोकिएको छ, जसमा प्रशिक्षण, खाजा र रोबोटिक्स किटको खर्च समेत समावेश छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले प्रशिक्षणका क्रममा आफैंले निर्माण गरेको रोबोटिक किट बुटक्याम्प सकिएपछि घर लैजान पाउनेछन्। कम्पनीका सीईओ कोइरालाका अनुसार, उद्देश्य विद्यार्थीले प्रविधिको स्पष्ट बुझाइसहित आफ्नै उत्पादन लिएर घर फर्कन सकून् भन्ने हो।
तालिम काठमाडौँको तीनकुनेस्थित रोबोआरम्भ ल्याबमा अनुभवी इन्जिनियर तथा प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछ। साथै, विद्यार्थीहरूलाई ललितपुरको बालकुमारीस्थित जीबीएस रिसर्च एन्ड डेभलपमेन्ट ल्याबको भ्रमण गराइनेछ, जहाँ उनीहरूले नेपालमा रोबोटिक्स उत्पादनको व्यावहारिक प्रक्रिया प्रत्यक्ष बुझ्ने अवसर पाउनेछन्।
