`

बुद्ध जयन्तीको अवसरमा बालेनले भने – ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’

Nepal One HD १८ वैशाख २०८३ १०:५२
बिशेष

काठमाडौं। २५७० औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली तथा बौद्धमार्गीहरूमा शुभकामना व्यक्त गरेका छन्।

बुद्ध जयन्तीको अवसरमा सन्देश जारी गर्दै उनले साँचो परिवर्तनको आधार ज्ञान भएको उल्लेख गर्दै भनेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ भनेको ज्ञान हो।’

प्रमुख शाहले गौतम बुद्धले प्रतिपादन गरेका चार आर्य सत्यको स्मरण गर्दै मानव जीवनमा ज्ञानको मार्ग नै दुःख निवारणको सही उपाय भएको बताएका छन्। उनले भने, ‘बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ। बुद्धले देखाउनुभएको बाटो नै वास्तवमा दुःख निवारणको मार्ग हो।’

ज्ञानको महत्त्वलाई थप प्रष्ट पार्दै उनले उज्यालो र अँध्यारोको उदाहरण प्रस्तुत गरे। ‘उज्यालोको अभाव नै अँध्यारो हो। जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ,’ उनले भने, ‘हाम्रो यात्रा पनि ज्ञानको उज्यालोको खोज र समस्या निवारणको मार्गमा केन्द्रित हुनुपर्छ।’

नेपाल बुद्धको जन्मभूमि भएको उल्लेख गर्दै उनले बुद्धका शान्ति, अहिंसा र करुणाका शिक्षालाई विश्वभर फैलाउनुपर्नेमा जोड दिएका छन्।

अन्त्यमा उनले बुद्ध जयन्तीले सम्पूर्ण मानव समुदायमा शान्ति, सहिष्णुता र सद्भावको सन्देश फैलाओस् भन्ने कामना गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *