`

ठेक्का विवरण हेरफेर : १३ जना पक्राउ

Nepal One HD १८ वैशाख २०८३ ११:४९
अपराध

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) अन्तर्गतको ई–गभर्नमेन्ट प्रोक्योरमेन्ट (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का सम्बन्धी विवरण हेरफेर गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोलिनुअघि नै कागजातहरूमा छेडछाड गरिएको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

यस प्रकरणका मुख्य आरोपित चितवन रत्ननगरका ऋषिकेश गौलीलाई पक्राउ गरिएको छ। हाल काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका उनलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गौलीमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

यसै प्रकरणमा संलग्न भएको आशंकामा अन्य १२ जना निर्माण व्यवसायीसहित कुल १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार ई–जीपी प्रणालीमा अनधिकृत पहुँचमार्फत सार्वजनिक खरिद प्रक्रियामा गम्भीर हस्तक्षेप गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *