स्पेस एक्सबाट मस्कलाई हटाउन मस्ककै सहमति चाहिने
एजेन्सी। अमेरिकी खर्बपति व्यापारी एलन मस्कको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो प्रस्तावित प्राथमिक सेयर निष्कासन (आईपीओ) सम्बन्धी कागजातमा असामान्य शासन संरचना सार्वजनिक गरेको छ।
जसअनुसार कम्पनीका सीईओ तथा बोर्ड अध्यक्ष पदबाट मस्कलाई हटाउने प्रक्रिया अन्ततः उनकै नियन्त्रणमा रहने देखिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समीक्षा गरेको फाइलिङअनुसार, मस्कलाई पदबाट हटाउने निर्णय दोस्रो श्रेणीका सेयरधनीको मतद्वारा मात्र सम्भव हुनेछ। तर यी सेयरहरूमा प्रत्येकको १० मत हुने भएकाले आईपीओपछि पनि मस्ककै नियन्त्रण कायम रहने व्यवस्था रहेको जनाइएको छ।
कागजातअनुसार, मस्कले दोस्रो श्रेणीका सेयरको ठूलो हिस्सा कायम राखेमा बोर्डका सदस्यहरूको चयन र हटाउने प्रक्रियामा समेत उनको निर्णायक प्रभाव रहनेछ। यसले कम्पनीको शासन संरचनामा उनको नियन्त्रण अत्यधिक बलियो बनाउने देखिन्छ।
स्पेसएक्सले आईपीओपछि दुई तहको सेयर संरचना अपनाउने योजना बनाएको छ। सार्वजनिक लगानीकर्ताका लागि क्लास ए र कम्पनीभित्रका व्यक्तिका लागि सुपर-भोटिङ अधिकारसहित क्लास बी सेयर। यद्यपि यस्तो संरचना केही प्रविधि कम्पनीहरूमा सामान्य भए पनि स्पेसएक्सको व्यवस्था अत्यन्तै कडा रहेको विश्लेषकहरूको भनाइ छ।
हार्वर्ड कानून विद्यालयका प्राध्यापक लुसियान बेबचकका अनुसार, यस्तो प्रावधान सामान्य नभएको र कम्पनी नियन्त्रणको परम्परागत अभ्यासभन्दा फरक रहेको बताएका छन्।
उनका अनुसार स्पेसएक्सको संरचनाले सीईओ हटाउने अधिकारलाई समेत मतदान शक्तिसँग प्रत्यक्ष रूपमा जोडेको छ, जसले मस्कको प्रभावलाई असाधारण रूपमा सुदृढ बनाएको छ।
स्पेसएक्सले सम्भावित लगानीकर्तालाई यस्तो संरचनाले कम्पनीका केही महत्वपूर्ण निर्णयहरूमा सीमित प्रभाव पार्न सक्ने चेतावनी पनि दिएको जनाइएको छ।
