`

अनलाइन ठगीको त्रासदी : ४५ करोड झ्वाम्, ४४ जना पक्राउ

Nepal One HD १८ वैशाख २०८३ १७:२२
अपराध

काठमाडौं। पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग तीव्र रूपमा बढ्दै जाँदा नेपालमा अनलाइन ठगीको समस्या भयावह बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैतसम्मको नौ महिनामा मात्रै सर्वसाधारणबाट ४४ करोड ८८ लाख ९५ हजार २६७ रुपैयाँ ठगी भएको तथ्यांक सार्वजनिक भएको छ।

नेपाल प्रहरीका अनुसार यो रकम विभिन्न अनलाइन माध्यम प्रयोग गरेर ठगी गरिएको हो। गत आर्थिक वर्ष २०८१/०८२ मा अनलाइन ठगीबाट १९ करोड २३ लाख ७४ हजार २५९ रुपैयाँ गुमेको थियो। त्यसको तुलनामा चालु वर्षको नौ महिनामै ठगी रकम १३३.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

चालु आर्थिक वर्षको उक्त अवधिमा प्रहरीले अनलाइन ठगीमा संलग्न ४४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ पुरुष, ५ महिला र ७ विदेशी नागरिक रहेका छन्। यस अवधिमा ७३ वटा मुद्दा दर्ता भएका छन्।

गत आर्थिक वर्षभरिमा अनलाइन ठगीसम्बन्धी घटनामा ९२ जनालाई पक्राउ गरिएको थियो।

पछिल्लो समय खल्ती, फोन पे र कनेक्ट आइपीएसजस्ता डिजिटल वालेट तथा भुक्तानी प्रणालीको नाम दुरुपयोग गरी ठगी गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ।

सेवा प्रदायकमाथि विश्वास गरेर प्रयोगकर्ताले उपलब्ध गराएका विवरणहरू विभिन्न प्राविधिक उपायमार्फत दुरुपयोग गरी खातामा पहुँच बनाउने र रकम निकाल्ने क्रम बढ्दो छ। प्रहरीका अनुसार केही समूहले वालेटमार्फत व्यक्तिगत बैंक खातासम्म पहुँच बनाउने प्रयाससमेत गरिरहेका छन्।

डिजिटल वालेटमार्फत सबैभन्दा धेरै ठगी भएको छ। यस शीर्षकमा ८ वटा मुद्दा दर्ता भएका छन् भने १८ पुरुष र १ महिला पक्राउ परेका छन्। यस माध्यमबाट करिब २३ करोड ५७ लाख रुपैयाँ ठगी भएको छ।

अनलाइन बैंकिङ ठगीका १२ वटा मुद्दा दर्ता भएका छन्। यसमा १ पुरुष, २ महिला र २ विदेशी पक्राउ परेका छन्। यस माध्यमबाट करिब १ करोड ७४ लाख ९४ हजार रुपैयाँ ठगी भएको छ।

अनलाइन किनमेलमार्फत ५ वटा मुद्दा दर्ता भएका छन्, जसबाट ९ करोड ४५ लाख २९ हजार रुपैयाँ ठगी भएको देखिन्छ।

त्यस्तै सामाजिक सञ्जाल प्रयोग गरी २ करोड ५९ लाख ९७ हजार रुपैयाँ ठगी भएको छ। यसमा ४ जना पक्राउ परेका छन्।

अनलाइन ठगी नियन्त्रणमा नियामक निकायहरूको प्रभावकारी भूमिका आवश्यक भए पनि सुरक्षा संयन्त्र अझै कमजोर रहेको गुनासो बढ्दै गएको छ। डिजिटल भुक्तानी प्रणाली विस्तारसँगै प्रयोगकर्ताको सुरक्षा र सचेतनामा थप सुधार आवश्यक देखिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले अनलाइन ठगी नियन्त्रणका लागि अनुसन्धान प्रणाली सुदृढ बनाइँदै गएको बताए। उनले प्रहरी कर्मचारीलाई नयाँ प्रविधिबारे तालिम दिने, क्षमता अभिवृद्धि गर्ने तथा अनुसन्धानको दायरा विस्तार गर्ने काम भइरहेको जानकारी दिए।

विशेषज्ञहरूले ओटीपी, पासवर्ड, बैंक विवरण वा वालेट कोड कसैलाई नदिन, अपरिचित लिंक नखोल्न, शंकास्पद सन्देश वा फोनबाट सावधान रहन तथा कुनै शंका लागेमा तत्काल प्रहरी वा सम्बन्धित सेवा प्रदायकलाई जानकारी दिन आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *