साइबर सुरक्षा तालिम सम्पन्न, पूँजी बजारलाई सुरक्षित बनाउने प्रतिबद्धता
काठमाडौं। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबिएएन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँगको सहकार्यमा काठमाडौंस्थित दी एभरेष्ट होटलमा साइबर सुरक्षा तथा सूचना प्रणाली (आईएस) अडिट सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ब्रोकर्स सदस्य संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सूचना प्रविधि (आईटी) प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो। पूँजी बजारमा बढ्दो डिजिटल कारोबारसँगै साइबर सुरक्षा र प्रणाली अडिटको महत्व सुदृढ गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।
प्रमुख प्रशिक्षक कुमार पुडासैनी र महाशाखा प्रमुख निशा तिमिल्सिनाले ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिएका थिए।
उद्घाटन मन्तव्यमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले प्रविधिको तीव्र विकाससँगै बजार थप डिजिटल र स्वचालित बन्दै गएकाले साइबर सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो।
एसबिएएनका अध्यक्ष सागर ढकालले पनि सुरक्षा नियमहरूको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो। समापनमा लीलाधर सुवेदीले यस्ता तालिमले बजार सहभागीलाई साइबर जोखिम व्यवस्थापनमा सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
करिब १८० जनाको सहभागिता रहेको उक्त कार्यक्रममार्फत पूँजी बजारलाई अझ सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
