जर्मनीबाट ५ हजार अमेरिकी सैनिक फिर्ता : के गर्दैछन् ट्रम्प ?
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच इरान रणनीतिलाई लिएर बढेको कूटनीतिक तनावका बीच पेन्टागनले जर्मनीबाट करिब ५ हजार अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।
यससँगै अमेरिकाको सैन्य उपस्थिति सन् २०२२ अघिको स्तरमा फर्किने देखिएको छ। पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलका अनुसार रक्षा सचिवले आगामी ६ देखि १२ महिनाभित्र फिर्ती प्रक्रिया पूरा गर्न आदेश दिएका छन्।
हाल जर्मनीमा ३६ हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्, जसमा ५ हजार घटेपछि करिब ३० हजारको हाराहारीमा उपस्थिति रहनेछ।
यो निर्णय जर्मन चान्सलर मर्जले इरान युद्ध र अमेरिकाको रणनीतिमाथि कडा आलोचना गरेपछि आएको हो। मर्जले हालै एक विद्यालय भ्रमणका क्रममा अमेरिकाको इरान नीति ‘अपरिपक्व’ भएको टिप्पणी गर्दै इरानी नेतृत्वले वासिङ्टनलाई अपमानित गरिरहेको आरोप लगाएका थिए।
उनले अमेरिका बिना स्पष्ट निकास रणनीति युद्धमा होमिएको र वार्ताका नाममा इरानले अमेरिकालाई अल्झाइरहेको बताएका थिए।
जवाफमा राष्ट्रपति ट्रम्पले मर्जलाई ‘केही थाहा नभएको’ भन्दै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सैन्य कटौतीको संकेत गरेका थिए। उनले इटाली र स्पेनबाट पनि सेना हटाउने चेतावनी दिँदै ती देशहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्।
स्मरण रहोस्, गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्दा जर्मनीसहितका नेटो सहयोगी देशहरूसँग कुनै परामर्श नगरिएको बताइन्छ।
जर्मनीले सैन्य पूर्वाधार र एयरबेस प्रयोग गर्न अनुमति दिए पनि प्रत्यक्ष आक्रमणका लागि आफ्नो भूमि प्रयोग गर्न अस्वीकार गर्दै आएको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि जर्मनीले रक्षा बजेट पर्याप्त नबढाएको भन्दै हजारौँ सैनिक फिर्ता गर्ने प्रस्ताव गरेका थिए, जसलाई पछि राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको थियो।
