बालेनमाथि खनिए सिके राउत भने – ‘विवेकहीन बुख्याचाको बुल्डोजर’
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउत ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सञ्चालन गरिरहेको डोजर अभियानप्रति कडा आपत्ति जनाएका छन्। उनले सरकारको कार्यशैलीलाई लक्षित गर्दै ‘विवेकहिन बुख्याचा नेतृत्व’ को संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले विवेकी र जिम्मेवार नेतृत्व र लोकप्रियतामा आधारित निर्णय गर्ने नेतृत्वबीच स्पष्ट फरक हुने बताएका छन्। उनका अनुसार, विवेकविहीन नेतृत्वले आदेशअनुसार काम मात्र गर्ने र त्यसको सामाजिक असरबारे नसोच्ने प्रवृत्ति देखाउने गर्छ।
उनले डोजर अभियानको उदाहरण दिँदै बिना दीर्घकालीन सोच र मानवीय संवेदनालाई ध्यान नदिई संरचना भत्काउँदा ठूलो मानवीय क्षति हुन सक्ने टिप्पणी गरेका छन्। राउतले यस्तो शैलीलाई ‘तमाशा र शक्ति प्रदर्शन’ सँग तुलना गर्दै आलोचना गरेका छन्।
यसको विपरीत, विवेकी नेतृत्वले जनतासँग संवाद गर्ने, समस्या बुझ्ने र वैकल्पिक समाधान खोज्ने बताउँदै उनले सडक विस्तार वा विकास योजनामा बाइपास जस्ता विकल्प अपनाउन सकिने तर्क पनि प्रस्तुत गरेका छन्।
राउतले अन्त्यमा ट्रोल वा आलोचनाबाट प्रभावित नभई आफ्नै विवेक र दृष्टिकोणका आधारमा राजनीति गर्ने उल्लेख गरेका छन्।
उनको स्टाटस जस्ताको त्यस्तै
विवेकी र उत्तरदायी नेत्तृत्व भने जनतासँग संवाद गर्छ, जनताको दुःखपीडा बुझ्छ, जनताको कुरा सम्बोधन गर्छ, वृहत् लक्ष्य र जिम्मेबारीलाई ध्यानमा राख्छ र सोही अनुरुप विवेकपूर्ण निर्णय गर्दछ ।
जस्तैः बुख्याचा नेत्तृत्वलाई कुनै गाउँबाट सीधा बाटो बनाउने नक्सा माथिबाट आउँछ । उसले यो माथिको आदेश हो, यै कानून हो, ‘म त यति कडा, उति कडा’ भन्दै आँखा चिम्लेर नक्सा अनुसार धागो हालेर सिनित्त सीधा पार्दै बाटोमा डोजर लगाउँदै खाली गराउँछ, चाहे त्यसको लागि सैकडौंको ज्यान जाओस्, सैकडौं टुहुरा बनून, हजारौं बेघर बनून् । उसलाई केहीले छुँदैन । ऊ त बस कागज अनुसार काम फत्ते गर्नुलाई नै बहादुरी ठान्दछ ! डोजर ल्याउँछ, भीड जम्मा गर्छ, विध्वंसलाई ग्ल्यामरस बनाउँछ, क्यामेराम्यान ल्याउँछ, तमाशा देखाउँछ, आफ्नो दम्भ र शक्ति प्रदर्शन गर्दछ । आफू कति शक्तिशाली भएको साबित गर्छ । अनि अहिले त ‘अल्गोरिदम’ र हजारौं ‘फेक अनलाइन’ हरू ले त्यसलाई स्तुतिगान पनि गर्दिन्छन् ।
त्यही ठाउँमा विवेकी नेत्तृत्वलाई सोही काम सौपिंयो भने उसले पहिला हेर्छ यो बाटो गाउँ भएर बनाउँदा १००० जनाको घर तोड्नु पर्ने हुन्छ, कसैको घर नै बच्दैन । त्यसैले आफ्नो विवेक, समझदारी, दूरदृष्टि र मानवीय संवेदना प्रयोग गरेर उसले यस्तो काम किन गर्ने, बरू नक्सा परिवर्तन गरेर भए पनि ‘बाइपास’बाट बाटो बनाउने तिर लाग्छ । किनकि उसलाई थाहा हुन्छ आखिर बाटो त जनताको लागि न बनाउने हो, कानून त अन्ततः जनताको सेवा गर्नका लागि हो, न कि जनताको घर भत्काएर लाखौं जनतालाई दुःख दिनका लागि ।
ट्रोल गर्नेहरूका लागिः हामी कमेन्ट पढेर राजनीति गर्दैनौं, के ठीक हो के ठीक होइन हाम्रो अन्तरात्माले के भन्छ त्यो सुनेर राजनीति गर्छौं । ट्रोल हुने डर वा राज्यको दमनको भयले चुप लाग्ने मान्छे परेनौं, हाम्रो इतिहास हेर्नुहोला । केही होला नहोला त्यो आफ्नो ठाउँमा छ, तर आज बोलेनौं भने इतिहासले के भन्ला, भन्ने पीर हामीलाई बढी छ । तपाईंहरू आफ्नो काम जारी राख्नुहोला । धन्यवाद ।
