`

दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरताले अर्थतन्त्र प्रभावित : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Nepal One HD २१ वैशाख २०८३ १४:५५
अर्थ समाचार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिनुको मुख्य कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता भएको बताएका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्ला वर्षहरूमा सरकार र गठबन्धन बारम्बार परिवर्तन हुँदा नीतिगत निरन्तरता कमजोर बनेको उल्लेख गरे। उनका अनुसार, ‘सरकार फेरिँदा नीति र प्राथमिकता पनि फेरिन्छन्, जसले राम्रा कार्यक्रमसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन पाउँदैनन्।’

श्रेष्ठले अहिलेको अवस्थालाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँदै स्थिर सरकार भए नीतिगत स्थायित्व आउने विश्वास व्यक्त गरे। निजी क्षेत्रले अर्थतन्त्रको ठूलो हिस्सा धानेको उल्लेख गर्दै उनले सरकारसँग सहकार्यको वातावरण आवश्यक रहेकोमा जोड दिए।

उनले आगामी तीन वर्षका लागि पाँच प्राथमिकता सार्वजनिक गर्दै निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने प्रतिबद्धता जनाए। नीति निर्माण, बजेट, कानुन तथा अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उनको भनाइ छ।

निजी क्षेत्रप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न अभियान सञ्चालन गरिने, लगानी सुरक्षा सुनिश्चित गरिने तथा व्यावसायिक विवाद समाधान प्रणाली सुधार गरिने उनले बताए। साथै, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि सरकारसँग नियमित संवाद गरिने पनि उनले उल्लेख गरे।

श्रेष्ठले महासंघलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने योजना पनि सार्वजनिक गरे। आर्थिक सुधार, सुशासन, प्रतिस्पर्धात्मकता, श्रम–सीप विकास र संस्थागत सुदृढीकरणमा केन्द्रित कार्ययोजना अघि सारिएको उनले जानकारी दिए।

उनले सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको भन्दै आर्थिक रूपान्तरण संयुक्त प्रयासबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *