शिक्षालय र कर्मचारीतन्त्रमा दलगत हस्तक्षेप अन्त्य गर्न अध्यादेश : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत हस्तक्षेप अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारीतन्त्र पार्टीकरणको शिकार बन्दै आएको उल्लेख गरेका छन्। ‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले एउटै कुरा भन्दै आएका छन्, विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो,’ उनले लेखेका छन्।
प्रधानमन्त्री शाहका अनुसार विभिन्न संगठनहरू विद्यार्थी र कर्मचारीको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’मा परिणत हुँदा योग्यता र क्षमताभन्दा पहुँच र दलगत आस्थाको प्रभाव बढेको छ। यसले समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनाएको उनको भनाइ छ।
सरकारले चाहेको खण्डमा नयाँ विद्यार्थी तथा कर्मचारी संगठन विस्तार गर्न सक्ने भए पनि अर्को दलगत संरचना थप्दा समस्या समाधान नहुने निष्कर्षसहित अध्यादेश ल्याइएको उनले स्पष्ट पारेका छन्।
‘शिक्षालयमा दलको झण्डा निषेध, कर्मचारीतन्त्रमा दलको झोला निषेध,’ उनले भने, ‘यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।’
प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्। साथै विद्यार्थीले गुरुबाट र कर्मचारीले विधि कानुनबाट सिक्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक संस्कार सुधारको आवश्यकता औंल्याएका छन्।
उनले यो कदम कुनै दलविरुद्ध नभई प्रणाली र भविष्य जोगाउने प्रयास भएको बताएका छन्। ‘यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो,’ उनले भने।
प्रधानमन्त्री शाहले परिवर्तन भाषणबाट नभई निर्णयबाट आउने उल्लेख गर्दै सरकार आम जनताको चाहनाअनुसार काम गर्न प्रतिबद्ध रहेको र सबै निर्णय जनहितमै केन्द्रित हुने विश्वास दिलाएका छन्।
