स्मार्ट टेलिकम प्रकरण: जोशी पक्राउ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण ले इजाजतपत्र (लाइसेन्स) नवीकरण नगरेपछि खारेज गरिएको स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ परेका छन्।
प्राधिकरणको नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना गरेको तथा सरकारलाई नोक्सानी पुर्याएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो का प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा जोशीलाई काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ४५ वर्षीय जोशीलाई काठमाडौं जिल्ला अदालत बाट पक्राउ अनुमति लिएर सोमबार नियन्त्रणमा लिइएको हो।
स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको थियो। तर, नियमानुसार नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो।
अनुमतिपत्र रद्द भएपछि ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ अनुसार स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार उक्त सम्पत्तिमाथि बेइमानीपूर्वक सरकारको हक नोक्सान पुर्याउने उद्देश्यले काम गरिएको भन्दै जोशीमाथि आरोप लगाइएको छ। सरकारी सम्पत्ति हिनामिना, ठगी तथा आपराधिक विश्वासघातमा संलग्न देखिएकाले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको सीआईबीले जनाएको छ।
हाल जोशीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
