कालंगा हाइड्रोको आइपिओ जेठ ८ देखि सर्वसाधारणका लागि खुल्ने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुलाउने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। सो प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ खुलाउन लागिएको हो।
कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीमध्ये ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यका ४९ लाख कित्ता सेयर निष्कासन गर्न कम्पनीले अनुमति पाएको थियो। यसमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ।
त्यस्तै, १ लाख ९५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। अब बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ १३ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म सबै सेयरमा आवेदन नपरेमा निष्कासन अवधि जेठ २२ गतेसम्म थपिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपाल ले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
आइपिओको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
यसका साथै मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा आवेदन दिन सकिनेछ।
