`

तीन जना पक्राउ

Nepal One HD २३ वैशाख २०८३ ११:१८
अपराध

काठमाडौं । राजधानीको इन्द्रचोक क्षेत्रमा पेस्तोल देखाएर ज्वेलर्स पसलमा लुटपाटको प्रयास गर्ने घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

वैशाख १७ गते इन्द्रचोकस्थित ‘नैना एन्ड इसन ज्वेलर्स’मा दुई जनाले लुटपाट प्रयास गरेको आरोपमा प्रहरीले विकेश राजवाहक र अरूण भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनीहरूबाट एउटा पेस्तोल समेत बरामद गरिएको छ।

यसैबीच, घटनासँग सम्बन्धित अर्को अभियुक्तका रूपमा ललितपुरका हरिकृष्ण महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो। भिडियोमा हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना व्यक्तिहरू पसलभित्र प्रवेश गरी एक महिला कर्मचारीलाई पेस्तोल देखाएर लुटपाटको प्रयास गरेको देखिन्छ।

तर ती महिला कर्मचारीले साहसपूर्वक प्रतिरोध गरेपछि उनीहरू लुटपाट गर्न नसकी भागेका थिए।

प्रहरीका अनुसार उक्त दिन लुटपाट सफल हुन सकेको थिएन। साथै, नजिकैको अर्को पसलमा भएको चोरी घटनासँग पनि उनीहरूको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *