कीर्तिपुरमा विपीनको हत्या, आरोपित अझै फरार
काठमाडौं। कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा बस्दै आएका विपीन घिमिरेको बुधबार दिउँसो भएको हत्यामा संलग्न आरोपितहरू अझै पक्राउ परेका छैनन्।
प्रहरीका अनुसार हत्यामा संलग्न दुईजनाको पहिचान भइसके पनि उनीहरू फरार छन्। जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले घटनामा संलग्न दुई युवाको पहिचान भए पनि पक्राउ गर्न बाँकी रहेको जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे जानकारी रहेको आरोपमा तीनजनालाई भने बुधबार नै नियन्त्रणमा लिएको छ। तीमध्ये एकजनाको भूमिका शंकास्पद देखिए पनि अन्य दुईजना घटनामा प्रत्यक्ष संलग्न नभएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा विपीनमाथि चक्कु प्रहार गर्ने व्यक्तिको पहिचान कैलालीका राज विष्टका रूपमा भएको खुलेको छ। चक्कु प्रहारपछि उनी कीर्तिपुरबाट भागेर ललितपुरको ग्वार्को क्षेत्रमा पुगेको लोकेसन ट्रेस भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न दुवै जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको छ।
