४ वर्षदेखिको धन्दा : ‘पटके चोर’ अम्बिकामाथि १८ मुद्दा
काठमाडौं। बालिकाहरूलाई ‘मम्मीको साथी’ भन्दै फकाएर कानका गहना लुट्ने एक महिला पक्राउ परेकी छन् । पोखरामा लामो समयदेखि चोरी तथा लुटपाटका घटनामा संलग्न रहँदै आएकी अम्बिका पुलामीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की का प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार उनी पछिल्ला करिब ४ वर्षदेखि विभिन्न चोरी तथा आपराधिक गतिविधिमा संलग्न रहँदै आएकी थिइन् ।
प्रहरीका अनुसार बिहीबार पोखरा महानगरपालिका-२५ हेमजा रामचोकमा ६ वर्षीया बालिकालाई ‘मम्मीको साथी’ भन्दै विश्वास दिलाएर जुस र आइसक्रिम खुवाइन् । त्यसपछि बालिकाले लगाएको करिब १ लाख रुपैयाँ बराबरको सुनको मुन्द्रा लिएर उनी फरार भएकी थिइन् ।
घटनापछि सीसीटीभी फुटेजको आधारमा उनको पहिचान गरिएको प्रहरीले जनाएको छ । पहेँलो रङको रेनकोट लगाएर ग २५ प ३५८४ नम्बरको स्कुटरमा उनी देखिएकी थिइन् । उक्त स्कुटर भाडाको रहेको खुलेको छ । उनलाई पोखरा-९ महेन्द्रपुल क्षेत्रबाट पक्राउ गरिएको हो ।
डीएसपी बस्नेतका अनुसार अम्बिकामाथि यसअघि पनि १८ वटा मुद्दामा अनुसन्धान भइसकेको छ । उनीविरुद्ध कास्की प्रहरीले १८ पटकसम्म पक्राउ गरी मुद्दा चलाइसकेको बताइएको छ ।
जिल्ला अदालत कास्की ले २०७९ सालमा उनलाई १८ वटा चोरी तथा लुटपाटका मुद्दामा २ वर्ष कैद र जरिवानाको फैसला सुनाएको भए पनि उनी फरार रहँदै आएको प्रहरीले जनाएको छ।
