प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट दर्ताका लागि निवेदन दिएका हुन्। शक्तिपृथकीकरणको सिद्धान्तविपरीत रुपमा प्रधानन्यायाधीश सिफारिस भएको दाबी गर्दै रिट दायर गरिएको त्रिपाठीले बताए। उनका अनुसार रिट दर्ता प्रक्रिया भने सुरु हुन बाँकी छ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। बैठकले पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका रिप्रसाद फुयाललाई बाइपास गर्दै चौथो वरियताका शर्मालाई अघि सारेको हो।
उक्त निर्णयप्रति परिषद्का दुई सदस्य राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले असहमति जनाएका थिए। दुई सदस्यको असहमतिकाबीच पनि प्रधानमन्त्री बालेन्द्र शाहले शर्मा नै उपयुक्त ठहर गर्दै सिफारिस अघि बढाएका थिए।
