घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बैंकिङ कसुरसम्बन्धी मुद्दामा सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएको हो ।
आयोगको टोलीले केही दिनअघि राउतलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद सजाय र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक पदमा बसेर सेवाग्राहीसँग गैरकानुनी लाभ लिनु गम्भीर भ्रष्टाचारजन्य कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध कडा कारबाही जारी रहने जनाएको छ ।
