`

इन्फिनिटी फाउन्डेसन नेपालद्वारा उदयपुरका जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

Nepal One HD २७ वैशाख २०८३ १२:०१
शिक्षा

काठमाडौँ ।हालै सञ्चालन गरिएको छात्रवृत्ति अभियान अन्तर्गत इन्फिनिटी फाउन्डेसन नेपालले उदयपुर जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। चौदण्डीगढी नगरपालिकास्थित श्री माध्यमिक विद्यालय, आमसालका २ जना तथा श्री सगरमाथा विद्यालयका ३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको संस्थाले जनाएको छ।

त्यसैगरी, बेलका नगरपालिकाअन्तर्गत श्री जनता माध्यमिक विद्यालय, लामीडाँडाका २ जना तथा श्री जनता माध्यमिक विद्यालय, पुमारेथुम्काका २ जना गरी कुल ४ जना विद्यार्थीलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ। वैशाख २३, २४ र २५ गते सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय पोसाक तथा आवश्यक सहयोग हस्तान्तरण गरिएको थियो।

इन्फिनिटी फाउन्डेसन नेपालले शिक्षा क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा समेत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीहरूलाई आवश्यक चिकित्सकीय परामर्श उपलब्ध गराउनुका साथै उपचारमा आर्थिक सहयोग गर्दै आएको संस्थाले जानकारी दिएको छ।

त्यसैगरी, जनचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउन संस्थाले विभिन्न क्षेत्रमा वृक्षरोपण, सरसफाइ अभियान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ।

शिक्षामा आर्थिक पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्फिनिटी फाउन्डेसन नेपालले काठमाडौं उपत्यकामा आर्थिक रूपमा कमजोर तथा पछाडि परेका कक्षा ८, १० र १२ का विद्यार्थीहरूलाई मासिक रु १०० शुल्कमा अध्ययन गराउने विशेष अभियानसमेत सञ्चालन गरिरहेको छ। साथै, प्रत्येक आइतबार २ घण्टा सरसफाइ कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुने अभ्यासमार्फत विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गर्ने प्रयास गरिएको छ।

यसका अतिरिक्त, विद्यार्थी तथा युवाहरूलाई सीपमूलक तथा प्रतिस्पर्धात्मक शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आयल्स, लोकसेवा, कोरियन तथा जापानी भाषा कक्षासमेत मासिक रु १०० शुल्कमै सञ्चालन गरिरहेको संस्थाले जनाएको छ। युवा पुस्तालाई सस्तो, सहज र गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आत्मनिर्भर बनाउने लक्ष्यसहित फाउन्डेसनले आफ्ना कार्यक्रमहरूलाई निरन्तर विस्तार गर्दै लगेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *