`

निखिल उप्रेतीको ‘आचार्य’सँग  ‘१२ गाउँ २’ र  ‘छ माया छपक्कै-२’को भिडन्त हुने सम्भावना  

Nepal One HD २७ वैशाख २०८३ १३:२८
चलचित्र

काठमाडौं। अभिनेता निखिल उप्रेती निर्देशित फिल्म ‘आचार्य’ अहिले पोस्ट प्रोडक्सन चरणमा रहेको छ। निर्माण टिमले फिल्मको डबिङलगायत अन्तिम काम तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।

निर्माण पक्षका अनुसार फिल्ममा निखिल उप्रेती स्वयं मुख्य भूमिकामा देखिने छन् र दर्शकले यसमा उच्चस्तरको एक्सन अनुभव गर्न पाउने दाबी गरिएको छ। एक्सन किङको छवि बनाएका निखिलकै निर्देशन भएकाले फिल्मको एक्सन पक्ष विशेष आकर्षण हुने अपेक्षा गरिएको छ।

फिल्ममा भारतीय कलाकारहरूको समेत अभिनय रहेको कारण ‘आचार्य’ थप चर्चामा आएको छ। अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिले फिल्मको बजार विस्तार हुने निर्माण टिमको विश्वास छ।

निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल रहेको यो फिल्म सुरुमा जेठमा प्रदर्शन हुने चर्चा थियो। तर अहिले फिल्मलाई दशैँलाई लक्षित गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

यदि ‘आचार्य’ दशैँमा रिलिज भएमा बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। सोही समयमा विराज भट्टको ‘१२ गाउँ २’ र दीपकराज गिरीको ‘छ माया छपक्कै-२’ पनि प्रदर्शन हुने सम्भावना रहेकाले दर्शक र बजार दुवै बाँडिने अनुमान गरिएको छ।

दशैँलाई लक्षित गर्दै अन्य केही नेपाली फिल्महरूले पनि प्रदर्शन मिति तय गर्ने तयारी गरिरहेका छन्। एउटै सिजनमा धेरै फिल्म रिलिज हुँदा प्रतिस्पर्धा बढ्ने र केही फिल्मले अपेक्षित व्यापार नपाउने जोखिमसमेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *