आरोही विजय घिमिरेको लेक लागेर निधन, हर्क साम्पाङद्वारा श्रद्धाञ्जली
काठमाडौं। सगरमाथाको चुचुरोमा हर्क साम्पाङको तस्बिर पुर्याउने सगरमाथा आरोही विजय घिमिरेको लेक लागेर निधन भएको छ। घिमिरेको निधनप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुःख व्यक्त गरेका छन्।
आरोहणका क्रममा आइतबार सगरमाथाको क्याम्प-१ पुग्दा उनी बिरामी परेका थिए। उद्धार गरी आधार शिविरतर्फ ल्याउने क्रममा बाटोमै उनको निधन भएको हो। उनको शव हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘विजय घिमिरे ज्यू, तपाईं हाम्रो हृदयमा सदैव अमर रहिरहनुहुनेछ।’
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-७ निवासी घिमिरेले २०८२ जेठ ४ गते सगरमाथाको चुचुरोमा पुगेर देशको झण्डा ओढाएका थिए। साथै उनले ढुंगा बोकेर हर्क साम्पाङको तस्बिर अंकित ब्यानरसमेत फहराएका थिए।
उनको निधनपछि श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि गहिरो श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
