`

‘शिव’को भूमिकामा ‘रणवीर सिंह’?

Nepal One HD २९ वैशाख २०८३ १२:३४
चलचित्र

एजेन्सी। ‘धुरन्धर’ को उल्लेखनीय सफलतापछि अभिनेता रणवीर सिंहको आगामी परियोजनाबारे दर्शक तथा फ्यानहरूमा उत्साह बढेको छ। उनका नयाँ फिल्मलाई लिएर विभिन्न अनुमान र चर्चाहरू चलिरहेका छन्।

भारतीय मिडिया रिपोर्टअनुसार रणवीर सिंह एक ठूलो पौराणिक–काल्पनिक फिल्ममा देखिने तयारीमा छन्। यो फिल्म लेखक अमीश त्रिपाठीको चर्चित उपन्यास ‘द इमोर्टल्स अफ मेलुहा’ मा आधारित हुने बताइएको छ।

उक्त कथामा भगवान शिवको चरित्रलाई केन्द्रमा राखिएको छ, जसमा उनलाई एक मानव योद्धाका रूपमा देखाइन्छ र उनको देवत्वतर्फको यात्रालाई चित्रण गरिएको हुन्छ।

रिपोर्टअनुसार यो प्रोजेक्ट एकल फिल्म नभई तीन भागमा निर्माण हुने त्रयी स्वरूपमा विकास गरिनेछ। हाल यसको प्रारम्भिक लेखन तथा प्राविधिक तयारी भइरहेको जनाइएको छ।

फिल्मको निर्देशनका लागि भने अझै कुनै नाम तय गरिएको छैन। पटकथा अन्तिम चरणमा पुगेपछि मात्र निर्देशक चयन गरिने बताइएको छ।

यस फिल्ममा रणवीर सिंह मुख्य कलाकारसँगै निर्माण पक्षमा पनि संलग्न हुने बताइएको छ। फिल्म बिर्ला स्टुडियोसँगको सहकार्यमा निर्माण हुने योजना रहेको छ।

फिल्मको छायांकन सन् २०२८ तिर सुरु गर्ने लक्ष्य राखिएको छ। त्यसअघि रणवीरले अन्य फिल्म परियोजनामा काम गर्नेछन्।

रिपोर्टअनुसार उनी मार्च २०२७ देखि आदित्य धरको निर्देशनमा बन्ने अर्को फिल्मको छायांकनमा व्यस्त हुनेछन्। त्यसपछि जय मेहताको फिल्म ‘प्रलय’ मा पनि काम गर्ने तयारी छ।

रणवीर सिंहको ‘धुरन्धर’ का दुवै भागले नेपालसहित विभिन्न बजारमा राम्रो व्यापार गरेको बताइएको छ, जसले उनको आगामी प्रोजेक्टप्रति अझै बढी चासो बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *