`

समावेशी संसद क्रान्तिको उपलब्धि हो : प्रचण्ड

Nepal One HD २९ वैशाख २०८३ १४:५६
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले संघीय संसदमा देखिएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको चुनावी उपलब्धिभन्दा पनि ठूलो राजनीतिक सफलता भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा उत्पीडित समुदायको प्रतिनिधित्वलाई लामो संघर्ष र बलिदानको परिणामका रूपमा व्याख्या गरे।

‘परिणामका हिसाबले पार्टी सानो वा ठूलो जे भए पनि यो संसदमा उत्पीडित समुदायहरूको इन्द्रेणी प्रतिनिधित्व हुनु मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने।

प्रचण्डले वर्तमान संसदलाई ‘रगतले लेखिएको कथा” को संज्ञा दिँदै जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षमार्फत प्राप्त उपलब्धिको उपज भएको बताए। “पिठ्युँमा दुधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले यो प्रतिनिधित्व सम्भव भएको हो,’ उनले भने।

उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह को उदयलाई पनि परिवर्तन र क्रान्तिको निरन्तरताका रूपमा चित्रण गरे। ‘काठमाडौंको मेयर हुँदै बालेन्द्र शाह आज देशकै प्रधानमन्त्री बन्नुभएको छ, पार्टी फरक भए पनि यो क्रान्तिकै संकल्पको जित हो,’ उनले बताए।

त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा हासिल गरेको सफलताको पनि उनले प्रशंसा गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ सफलता हासिल गरेको छ, त्यसका लागि रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष बधाई दिन चाहन्छु,’ उनले भने।

प्रचण्डले संसदको वर्तमान स्वरूपलाई विगतको सामन्तवादी संरचनासँग तुलना गर्दै परिवर्तनको स्पष्ट संकेत भएको बताए। ‘हिजो बन्दुक नउठेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यो संसदमा प्रवेश गर्न पाउने थिएनन्,’ उनले दाबी गरे।

उनले संसद भवनलाई केवल इँटा, सिमेन्ट र फलामको संरचना नभई हजारौं शहीदको बलिदानको प्रतीक भएको बताए। ‘यो भवनको हरेक भित्तामा बलिदानको रङ लागेको छ,’ उनले भावुक हुँदै भने।

रुकुम पूर्वबाट निर्वाचित प्रचण्डले आफूलाई निर्वाचित गराउने मतदाता तथा सम्पूर्ण नेपाली जनताप्रति आभार व्यक्त गरे। साथै, नव निर्वाचित सांसदहरूलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन आह्वान गरे।

उनले अन्त्यमा संघर्ष र बलिदानलाई बिर्सिए लोकतान्त्रिक उपलब्धिहरू नै संकटमा पर्ने चेतावनी दिए। ‘जुन दिन हामीले त्यो बलिदान बिर्सन्छौं, त्यो दिन यो भवन आफैं ढल्नेछ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *