संख्याको दम्भमा विधि मिच्ने काम नहोस् : प्रचण्ड
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ले सरकारलाई संख्याको बलमा विधि र प्रक्रिया मिच्ने काम नगर्न चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जनताले दिएको विश्वासलाई लोकतान्त्रिक प्रणाली र विधि बलियो बनाउन प्रयोग गर्नुपर्ने बताएका हुन्।
‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने काम नगरियोस्। जनताले अहिले तपाईंहरूलाई विश्वास गरेका छन्, त्यो विश्वास लोकतान्त्रिक विधि सुदृढ गर्ने दिशामा प्रयोग होस्,’ प्रचण्डले भने।
उनले संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारको शैलीप्रति पनि आपत्ति जनाए। आफ्नै सरकारले गठन गरेको संसद्लाई निष्क्रिय बनाएर जनप्रतिनिधिलाई छल्ने काम लोकतन्त्रको भावना विपरीत भएको उनको भनाइ थियो।
‘आफैंले बनाएको संसद् स्थगित गरेर एकपछि अर्को अध्यादेश ल्याउनु लोकतान्त्रिक अभ्याससँग मेल खाने कुरा होइन,’ उनले बताए।
प्रचण्डले पछिल्लो समय सरकारको आलोचना गर्नेहरूमाथि धरपकड गरिएको भन्दै त्यसप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले प्रतिशोधको भावना झल्किने गरी भइरहेको कारबाही लोकतान्त्रिक पद्धति र प्रणालीका लागि स्वीकार्य नहुने स्पष्ट पारे।
‘सरकारको आलोचना गर्नेहरूलाई थुन्ने र धरपकड गर्ने शैलीले प्रतिशोधको गन्ध दिएको छ,’ उनले भने, ‘यस्तो प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन सक्छ।’
