जम्मा ५८ सांसदले बुझाए सम्पत्ति विवरण ?
काठमाडौं। संघीय संसद्का ५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। उनीहरूले संघीय संसद् सचिवालयको सांसद सुविधा शाखामा विवरण बुझाएको बताइएको छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५०(१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१(क)(१) अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण तोकिएको निकायमा पेस गर्नुपर्ने व्यवस्था छ।
उक्त कानुनी व्यवस्थाअनुसार पदभार ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ। सोही आधारमा संघीय संसद् सचिवालयले सांसदहरूलाई समयमै विवरण बुझाउन सूचना जारी गरेको थियो।
सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ।
संघीय संसद् अन्तर्गत २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा रहेका छन्।
