स्वास्थ्य मन्त्री मेहता र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्ताका क्रममा नेपाल–भारतबीच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विशेषगरी स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध पक्षबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालसँगको स्वास्थ्य सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री मेहताले पनि नेपालका स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारले दिँदै आएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।
भेटवार्तामा राष्ट्रियस्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा विशेष छलफल भएको बताइएको छ।
दुवै पक्षले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा भारत-नेपाल सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी र दीर्घकालीन बनाउन सहमति व्यक्त गरेका छन्।
