‘तिनीहरू’ (एलिफेन्ट्स इन द फग) को ट्रेलर सार्वजनिक
काठमाडौं। नेपाली फिल्म ‘तिनीहरू’ (एलिफेन्ट्स इन द फग) ले कान्स फिल्म फेस्टिभलअघि नै पहिलो अन्तर्राष्ट्रिय वितरण सम्झौता हासिल गरेको छ ।
कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ खण्डमा विश्व प्रिमियर हुन लागेको फिल्मको अन्तर्राष्ट्रिय बिक्री अधिकार ‘बेस्ट फ्रेन्ड फरेभर’ ले प्राप्त गरेको हो ।
फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको छ । बुधबार १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
फ्रान्समा सह–वितरण अधिकार ‘एरिजोना डिस्ट्रिब्युसन’ र ‘ले वाल्सेउर्स डिस्ट्रिब्युसन’ ले लिएका छन् । जर्मनी र अस्ट्रियाका लागि वितरण अधिकार ‘मिसिङ फिल्म्स’ लाई बिक्री गरिएको छ भने ब्राजिलमा ‘इमोभिजन’ ले वितरण गर्नेछ । नेपालमा घरेलु वितरणको जिम्मा ‘द टी फोक्स फिल्म्स’ ले लिने भएको छ ।
फिल्म अविनाश बिक्रम शाहको निर्देशनमा बनेको हो । उनको सर्ट फिल्म ‘लोरी’ ले सन् २०२२ मा कान्सअन्तर्गत सर्ट फिल्म प्रतिस्पर्धामा विशेष उल्लेख प्राप्त गरेको थियो ।
यसअघि उनले ‘शाम्बाला’ को पटकथा सहलेखन गरेका थिए, जुन सन् २०२४ को बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा पुगेको थियो ।
फिल्मको कथा जंगलले घेरिएको नेपाली गाउँमा आधारित छ, जहाँ जंगली हात्तीहरूको बासस्थान छ । कथामा ‘पिरती’ नामकी किन्नर समुदायकी पात्र केन्द्रमा छिन्, जसले प्रेम र समुदायप्रतिको जिम्मेवारीबीच कठिन निर्णय लिनुपर्ने अवस्था सामना गर्छिन् ।
