`

लागूऔषधको तलतले मोटरसाइकल चोरी

Nepal One HD ३१ वैशाख २०८३ १३:३०
अपराध

काठमाडौं । लागूऔषध किन्‍न पैसा नभएपछि मोटरसाइकल चोरी गरेको कविन उपाध्यायले बयान दिएका छन् ।

उनले लागूऔषधकाे तलतल भए पनि किन्‍न पैसा नभएपछि माेटरसाइकल चाेर्ने याेजना बनाएकाे र साेहीअनुसार चाेरेकाे प्रहरीसमक्ष उपाध्यायले बयान दिएका हुन् । उनका अनुसार, २० चैत २०८२ मा काठमाडौंको माछापोखरीबाट चितवनतर्फ जाने बसमा चढेर घर फर्कने क्रममा रातको अँध्यारोमा धादिङको गल्छी बजारमा झरेपछि मोटरसाइकल चोरी गर्ने योजना बनाएको हाे । गल्छी क्षेत्रमा एकान्तमा माेटरसाइकल नभएपछि उनी राति २ बजेतिर जिल्लाकै थाक्रे गाउँपालिका–७, आठकिलो पुगेकाे र त्यहाँ ग्यारेज अगाडि पार्क गरिएको बा ८४ प ७३०५ नम्बरको मोटरसाइकल देखेपछि भाइजरभित्रको तार छिनाएर मोटरसाइकल स्टार्ट गरी घर लगेकाे बयान दिए ।

त्यसकाे चार दिनपछि प्रहरीले चेकजाँच गर्दा चोरी गरिएको मोटरसाइकलकाे लेगार्डमा झुण्ड्याइएको हेल्मेटभित्र लागूऔषध लुकाइएकाे भेटिएसँगै पक्राउ परेकाे उनकाे भनाइ छ । उनले चाेरी गरेकाे माेटरसाइकल थाक्रेमा भीमबहादुर तामाङले चलाएकाे ग्यारेजमा काम गर्ने मिस्त्री शिवजी यादवकाे हाे ।

उनै माेटरसाइकल चाेरेकाे स्वीकारेका उपाध्यायविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालय धादिङले जिल्ला अदालत धादिङमा चाेरी सम्बन्धी कसुरमा कैद सजाय र जरिवाना माग गर्दै आराेपपत्र दायर गरेकाे छ । आराेपपत्रमा चाेरी आराेपी उपाध्यायलाज्ञ तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाकाे मागदाबी भएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *