जब आँचल दोस्रो पटक बेहुली बनिन्
काठमाडौं। जेठ १ गते (शुक्रवार) देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को बुधबार काठमाडौंमा भव्य प्रीमियर सम्पन्न भएको छ।
प्रीमियर कार्यक्रममा महिला नौमति बाजा समूहको नौमति बाजाको धुनसँगै फिल्मकी मुख्य अभिनेत्री आँचल शर्माले डिजाइनर मनिष राईले तयार पारेको रातो गाउन र लामो घुम्टो लगाएर बेहुली शैलीमा प्रवेश गरेकी थिइन्। साहारा शर्माको निर्देशनमा बनेको यस फिल्मको प्रीमियरमा पनि महिलाको उपस्थितिलाई विशेष प्राथमिकतामा राखिएको देखिन्थ्यो।
फिल्ममा आँचल शर्माले ‘माइली’ नामक पात्रको भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीसँग जोडिएको कथा प्रस्तुत गरिएको छ। उनको पात्रमार्फत विवाहसँग सम्बन्धित भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेदनशील ढंगले चित्रण गरिएको छ।
फिल्मले मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक कथा उठाएको भन्दै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। निर्देशक साहारा शर्माले ‘एक मुठ्ठी बादल’ नेपाली चलचित्रमा प्रायः कम देखिने महिलाका भावना र अनुभवमा आधारित कथा भएको बताइन्।
प्रीमियर कार्यक्रममा निर्माता अभिमन्यू दीक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले निर्देशकसँगै उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए।
