९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ
काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा ठगी गर्ने ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि एकैसाथ छापा मारेको छ ।
प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा ६९ जना कन्सल्टेन्सी सञ्चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
विदेश अध्ययनका लागि पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूबाट रकम असुली ठगी गरेको उजुरी परेपछि प्रहरीले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित कन्सल्टेन्सीहरूमा एकैपटक छापा मारेको हो ।
प्रहरीका अनुसार कारबाहीमा परेका संस्थाहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा एवं भाषा शिक्षण निर्देशिका २०७३ मा उल्लेखित मापदण्ड उल्लंघन गरेको पाइएको छ ।
ती कन्सल्टेन्सीहरूले विधिवत् दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको, सरकारबाट अनुमति नलिई शैक्षिक परामर्श, भाषा शिक्षण र पूर्वतयारी कक्षा सञ्चालन गरेको तथा विदेश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई आर्थिक रूपमा ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका ६९ जना सञ्चालकमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले यस्ता कन्सल्टेन्सीमार्फत ठगीमा परेका अन्य पीडितहरूलाई पनि टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
पछिल्लो समय वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीका घटना बढ्दै गएपछि प्रहरीले उपत्यकाभर निगरानी कडा बनाएको जनाएको छ ।
