लिग–२ मा अमेरिकाले दियो नेपाललाई १९६ रनको लक्ष्य (तस्वीरहरू)
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो । एक समय १५३ रनमा ३ विकेट मात्र गुमाएको अमेरिका त्यसपछि मात्र ३७ रन थप्दा बाँकी ७ विकेट गुमाउँदै अलआउट भयो ।
अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहान जयसूर्याले अर्धशतकीय इनिङ्स खेले । पटेलले ८९ बलमा ३ छक्का र ८ चौकासहित ८३ रन बनाए भने जयसूर्याले ५२ बलमा १ छक्का र ५ चौकासहित ५० रन जोडे । मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए पनि अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।
नेपालका लागि बलिङमा दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे । सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट लिए ।
यस शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्डबीच हालसम्म दुई खेल सकिएका छन्, जसमा दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा २ रनले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पनि सोही नियमअनुसार २ रनले पराजित गरेको थियो ।
लिग–२ को अंक तालिकामा नेपाल हाल २५ खेलमा ८ जित, १५ हार र २ अनिर्णित नतिजासहित १८ अंकका साथ आठौं स्थानमा छ । अमेरिका २५ खेलमा १८ जित र ७ हारसहित ३६ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने स्कटल्याण्ड ३० खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ ।









