केन्द्रीय कारागारबाट सपना फरार
काठमाडौं । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक जना कैदी फरार भएकी छन् । महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ कारागारबाट भागेकी हुन् ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालका अनुसार शुक्रबार बिहान करिब १:३० बजेतिर उनी कारागारको कम्पाउन्ड पर्खाल नाघेर फरार भएकी हुन् ।
नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद सजाय तोकेको थियो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले कारागार कम्पाउन्डको झ्यालबाट चढेर पर्खाल नाघी भागेको देखिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको एसएसपी धितालले बताएका छन् ।
केन्द्रीय कारागारको सुरक्षा प्रमुख डीएसपी शैलेश न्यौपाने रहेको बताइएको छ ।
यसअघि पनि केन्द्रीय कारागारको महिला बन्दी गृहमा २०८२ फागुन १ गते झडप भएको थियो । हाल उक्त महिला ब्लकमा ३०० भन्दा बढी महिला कैदीबन्दी राखिएको जनाइएको छ ।
