संकटमा गगन, विभाजनको डिलमा कांग्रेस
नेपाली कांग्रेस भित्रको आन्तरिक कलह अब सार्वजनिक रूपमा सतहमा देखिन थालेको छ। विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको ध्रुवीकरण पछिल्ला गतिविधिले झन् गहिरिँदै गएको संकेत दिएका छन्। नेताहरूका छुट्टाछुट्टै कार्यक्रम, समानान्तर संगठन निर्माणका तयारी तथा १५औँ महाधिवेशन लक्षित शक्ति सञ्चयका गतिविधिले कांग्रेस विभाजनको डिलमा पुगेको विश्लेषण हुन थालेको छ।
पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसभित्रको विभाजनको बीउ विशेष महाधिवेशनबाटै रोपिएको बताएका छन्। गृहजिल्ला धनुषा पुगेका निधिले इतर समूह १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको दाबी गरे। उनका अनुसार काठमाडौंमा छुट्टै पार्टी कार्यालय सञ्चालनका लागि भाडाको घरसमेत खोजी भइरहेको छ।
कांग्रेसले हाल एक महिने ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ। अभियानमार्फत डिजिटल रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने व्यवस्था गरिएको छ। प्रारम्भमा भौतिक उपस्थितिसहित डिजिटल अभिलेख राख्ने योजना बनाइए पनि पछि अनलाइन प्रणाली अपनाइएको थियो। संस्थापन पक्षले एआईको सहायतासहित डिजिटल अद्यावधिक प्रणाली लागू गरे पनि खड्का समूहले भने अभियानलाई बहिष्कार गरेको छ।
खड्का समूहले सुर्खेत, काठमाडौं र विराटनगरमा भेला तथा शक्ति प्रदर्शनका कार्यक्रम गरिसकेको छ। यी गतिविधिलाई १५औँ महाधिवेशनको पूर्वतयारीका रूपमा हेरिएको छ।
खड्का समूहभित्रकै केही नेताहरूले भने १५औँ महाधिवेशन र नयाँ पार्टी गठनको तयारी समानान्तर रूपमा चलिरहेको बताएका छन्। उनीहरूका अनुसार पार्टीभित्र सम्मानजनक एकता कायम भए महाधिवेशनमा प्रतिस्पर्धा गर्ने, अन्यथा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने रणनीति बनाइएको छ।
नयाँ पार्टीको सम्भावित नेतृत्वका लागि प्रकाशमान सिंह र विमलेन्द्र निधिमध्ये एकलाई अगाडि सार्ने तयारी भइरहेको बताइन्छ। समूहभित्र हाल पूर्वकार्यवाहक सभापति खड्कालाई नेतृत्वको केन्द्रमा राखेर रणनीति बनाइएको छ।
यद्यपि, खड्का स्वयं भने सकेसम्म पार्टी विभाजन टार्नुपर्ने पक्षमा रहेको निकट नेताहरू बताउँछन्। अन्य नेताहरूले नयाँ पार्टीको विकल्पलाई “प्लान बी” का रूपमा मात्र राखिएको दाबी गरेका छन्। संस्थापन पक्षको रणनीति हेरेर मात्रै अन्तिम निर्णय लिइने उनीहरूको भनाइ छ।
विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिए पनि इतर समूहले “कानुनी समाधान भए पनि राजनीतिक समाधान अझै बाँकी रहेको” बताउँदै आएको छ। उनीहरूको भनाइमा आत्मसम्मानविहीन एकता स्वीकार्य हुन सक्दैन।
यहीबीच २८ वैशाखमा सभापति गगनले विशेष महाधिवेशनबाट बाहिर रहेका १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। मनोनयनअघि सम्बन्धित नेतासँग परामर्श गरिएको दाबी गरिए पनि इतर समूहका नेताहरू खड्का र कोइरालाले यसलाई एकताविपरीत कदम भनेका छन्।
शेखर कोइरालाले एकतर्फी रूपमा केन्द्रीय सदस्य थपिएको भन्दै असन्तुष्टि जनाएका थिए। इतर समूहले सम्मानजनक ब्लक हिस्सेदारी माग गरिरहेको बेला सभापति थापाले व्यक्तिगत रूपमा नेताहरूलाई समेट्ने रणनीति अपनाएको आरोप उनीहरूको छ।
यसैक्रममा उपसभापति विश्वप्रकाश शर्माले पोखरामा आयोजित कार्यक्रममा अघिल्लो कार्यसमितिले तत्कालीन महामन्त्रीमाथि कारबाही गर्दा कुनै परामर्श नगरिएको प्रसंग स्मरण गराउँदै वर्तमान निर्णयहरूको बचाउ गरेका थिए।
कांग्रेसभित्र अहिले दुईवटा समानान्तर धार स्पष्ट देखिएका छन्। एकातिर संस्थापन पक्ष संगठन विस्तार र संरचनागत सुदृढीकरणमा लागेको छ भने अर्कोतर्फ इतर समूह शक्ति सञ्चय गर्दै सम्मानजनक हिस्साको माग गरिरहेको छ। दुवै पक्षको गतिविधि हेर्दा तत्काल विभाजन हुने अवस्था नदेखिए पनि अविश्वास र प्रतिस्पर्धा गहिरिँदै गएको संकेत भने स्पष्ट देखिन्छ।
१५ औँ महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्रको शक्ति सन्तुलन, नेतृत्वको व्यवहार र राजनीतिक समायोजनले पार्टीको भविष्य निर्धारण गर्ने देखिएको छ।
