राप्रपा कि जमानत जफत पार्टी ?
मेरा मित्र महामन्त्री प्रल्हाद शाहले राप्रपाको नामकरण गरिदिनुभएको सायद ६–७ हप्ता भयो होला । उहाँले नामकरण गर्नुभएको थियो-जमानत जफत पार्टी, जसको छोटो रूप ‘जजपा’ ।
राप्रपा अर्थात् जजपा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चुनाव सकिएको ४६ दिनपछि बसेको रहेछ । यो गएगुज्रेको पार्टीले के-के निर्णय गर्यो ? विज्ञप्तिमा छँदैछ । यसकारण त्यसको व्याख्या मैले गरिरहन परेन । तर, जजपा पार्टीले ४५ दिनभित्र देश र पार्टीमा घटेका घटनाहरूको समीक्षासम्म गरेन ।
अझ भनौं, तपशीलका विषयमा छलफल हुनुपर्थ्यो, भएन । सबै कार्य सम्पादन समिति सदस्यहरू केवल पदका लागि मात्रै बाँचेका निम्सराहरू भएकाले देश, संसदीय गतिविधि, पार्टी र कार्यकर्ताहरूका बारे कुनै छलफल नै गरेनन् । बैठकमा छलफल हुनुपर्ने तर छलफल नगरिएका विषय यसप्रकार थिए ।
१. फागुन २१ को चुनावमा ९७ प्रतिशत राप्रपा उम्मेदवारको जमानत जफत किन भयो ? को जिम्मेवार हो ?
२. कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलालाई झापा ४ बाट चुनाव उठाउने अन्तरघाति को हो ? पूर्वअध्यक्षहरू पशुपतिशम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र ‘आउटगोइङ’ अध्यक्ष राजेन्द्र लिङ्देनको नाम चर्चामा आएको कुरामा किन ठहर वा खण्डन गरिएन ?
३. जजपाका हाल पाँचजना सांसद रहेकोमा ती सांसदहरूलाई पार्टीले कुनै निर्देशन दिनुपर्नेमा किन दिइएन ? अध्यादेशबारे नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासँग गठजोड गर्ने र बालेन सरकारको नीति तथा कार्यक्रममा अघिल्लो दिन संसदमा मौन समर्थन गर्ने र भोलिपल्ट बहिष्कार गर्ने नीति पार्टीको हो कि होइन ?
४. बालेन सरकारको नीति तथा कार्यक्रमबारे संसदीय दल मनमौजी र वेपरवाह रहेको भए पनि राप्रपाको आधिकारिक धारणा के हो ? किन बोल्दैन पार्टी ?
५. नीति तथा कार्यक्रम बहिष्कार गरेको अवस्थामा अब सोही कार्यान्यवयन गर्न पेश हुने वार्षिक बजेटसम्बन्धी छलफलमा राप्रपाले भाग लिनु लज्जाजनक हुन्न ? पार्टीको रणनीति के हो ?
६. गत एक वर्ष यता अध्यक्ष लिङ्देनले विधानविपरीत एकजना वरिष्ठ नेता, दुईजना केन्द्रीय उपाध्यक्ष, एकजना महामन्त्री, एकजना प्रवक्ता र ६ जना केन्द्रीय सदस्य गरी विधानविपरीत ११ जनालाई पदमुक्त र अन्य २ जनालाई निलम्वन गर्दा मुखमा खोया हालेर बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकको औचित्य के हो ? के अध्यक्षलाई मनपरी गर्ने छुट विधानले दिएको छ ?
७. राप्रपामा ४० वर्ष मुनिका युवालाई (विधानविपरित महाधिवेशन प्रतिनिधि र ३ वर्ष सक्रिय सदस्य हुनुपर्ने वैधानिक व्यवस्था रहेको) एकै पटक केन्द्रीय कार्यसमितिमा नियुक्त गरेका सबै र राप्रपा नेपाल राप्रपा विलय भएपछि सो पार्टीका अध्यक्ष कमल थापा र १२६ जना केन्द्रीय सददस्यहरूलाई विधिवत रूपमा निर्वाचन आयोगमा अभिलेखीकरण किन नगरिएको हो ? त्यसबारे कार्यसम्पादन समिति किन कुनै निर्णयमा नपुगी अध्यक्षको लाचार छायाँ बन्नुपर्ने कारण के हो ?
८. राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा ६ जना कार्यसम्पादन समितिका सदस्य बनाइएका र बाँकी १२६ जना राप्रपामा केन्द्रीय सदस्य बनाइएकाहरूको राप्रपामा वैधानिक हैसियत के हो ? भोलि कानुनी परीक्षण गर्नुपर्ने अवस्थामा राप्रपामा यी १५३ जनाको कानुनी हैसियत के हुने ?
९. ४० वर्षमुनिका ४० जना नवोदित केन्द्रीय सदस्यमध्ये अहिले कतिजना राप्रपामै आवद्ध छन् ? यसबारे राप्रपाको कार्यसम्पादन समिति किन मौन ?
१०. पार्टीको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सो पदबाट राजीनामा दिएको स्वीकृत अस्वीकृत के भयो ? खै, पार्टीले पारदर्शिता देखाएको ?
११. राप्रपा गणतन्त्रवादी पार्टी हो कि राजसंस्था पक्षधर पार्टी हो ? राप्रपाका नेता कार्यकर्तालाई कारवाही गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका सदस्यहरूलाई ‘पार्टी स्कुलिङ’ नगरी धमाधम राप्रपामा पार्टीको कुन नीति र हितका लागि प्रवेश गराइँदैछ ?
१२. निर्वाचनमा मनोनयनको अघिल्लो दिन पार्टी प्रवेश गराएर, सोही दिन अध्यक्षको प्रवक्ता मोहन श्रेष्ठले पार्टीको प्रवक्ता भनी फेसबुकमा लेखी काठमाडौँ ३ नम्बर क्षेत्रबाट उम्मेदवार बनाइएका व्यक्ति अहिले राप्रपामा आवद्ध छन् कि छैनन् ? कार्यसम्पादन समितिले राप्रपाको संगठन निर्माण गरिरहेको हो कि राप्रपालाई जलपाइगुडीको रेलवे जक्सन बनाउन खोजेको हो ?
१३. राप्रपाको कार्ययोजनाबारे किन कार्यसम्पादन समितिमा छलफल हुँदैन ? राप्रपा नेताहरू हुकुमी शैलीमै चल्ने हो भने राप्रपामा रहिरहनुको औचित्य के ?
१४. राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायत १ दर्जन केन्द्रीय सदस्यहरूले पार्टी छोड्नुको कारण कार्यसम्पादन समिति बैठकले खोजबिन गर्नु पर्दैन ?
१५. राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा दुई कार्यकाल सदस्य भइसकेका व्यक्ति अब कार्यसम्पादन समितिमा नदोहरिने प्रतिवद्धता जनाएर अब नयाँ व्यक्तिहरूलाई यसमा स्थान दिने प्रतिवद्धता प्रस्ताव खोई ? विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा अध्यक्षलाई मनोनयन गर्ने अधिकार नभएको मात्र होइन, कार्यसम्पादन समिति सदस्य हुन पार्टीको केन्द्रीय कार्यसमितिमा विधानअनुसार स्वतन्त्र रूपमा चुनाव गर्ने प्रतिवद्धता पत्र सार्वजनिक गरेको खोई ?
यस्तै, गएगुज्रेको तालले राप्रपा चलाउने हो भने यो राजनीतिक पार्टीमा होइन, अब धर्मशाला–पाटीमा रूपान्तर हुन बेर छैन ।
राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष बनेपछि गठित राप्रपा उर्फ जजपा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी पदाधिकारीहरू महाधिवेशनको मिति तोकिएको दिनदेखि भंग गरिनुपर्छ, त्यसो नगरिए आगामी महाधिवेशन धाँधलीरहित र निष्पक्ष हुन सक्तैन ।
