`

गगनको अहंकार कांग्रेस विभाजनको कारक बन्ने चिन्ता

Nepal One HD ३ जेठ २०८३ ११:४६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस सक्लो रहने सम्भावना क्षिण बन्दै गएको छ । सभापति गगन थापा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षविरुद्ध कठोर बन्दा पार्टी एकता कायम राख्न चुनौती थपिएको छ ।

गगननिकट एक नेताले नेपालवान एचडीलाई भने, ‘फरक मत राख्नेविरुद्ध उहाँको पेलेर जाने जुन शैली छ, त्यो शैली कांग्रेसलाई एकताबद्ध पार्टी राख्न हानिकारक बन्ने देखिन्छ ।’

सभापति थापाले एक साताअघि देउवानिकट नेता पूर्णबहादुर खड्कासँग संवाद गरेका थिए । कतिपयले संवादहीनता तोडिएको र पार्टी एकता कायम राख्ने मामिलामा एउटा फड्को मानेका थिए । यसबीचमा सभापति थापाले खड्कापक्षीय केही नेतालाई केन्द्रीय सदस्य मनोनीत गरे । नेता खड्का असन्तुष्ट रहे ।

अर्का नेता डा. शेखर कोइरालाले पनि आफूसँग सल्लाह नगरी केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै रुष्ट भए ।
शनिबार त नेता खड्काले सुर्खेतको वीरेन्द्रनगर पुगेर भने, ‘सानेपा र बाहिरको कांग्रेसबीच दूरी बढ्यो ।’ उनी त्यतिमा अडिएनन् र भने, ‘यस्तै ताल हो भो पार्टी एक रहन सक्दैन ।’

चेतावनीयुक्त खड्काको यो अभिव्यक्तिले कतै कांग्रेस फुट्दै त छैन ? कांग्रेसभित्र संशय पैदा भएको छ । जबकि, अबको ११ महिनामा स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसको ६ महिनापछि प्रदेश संसदको निर्वाचन हुँदैछ । यदि कांग्रेस फुटे यी दुई निर्वाचनमा कांग्रेसको झनै लज्जास्पद हार हुने भन्दै चिन्ता प्रकट हुन थालेको छ । यसअघि गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस कमजोर प्रमुख विपक्षी दल बनेको छ ।

लोकतान्त्रिक शक्तिको रूपमा रहेको यो दलले भन्दा झण्डै पाँच गुणा सिट जित्दै अर्को लोकतान्त्रिक धाराकै शक्ति रास्वपा पहिलो दल बन्यो ।

निर्वाचनमा कांग्रेसको हारको वस्तुगत समीक्षा त भएको छैन तर पनि कांग्रेस नेताहरू पार्टी एकताबद्ध नहुँदाको चुनावी परिणाम ठान्छन् । अर्थात् निर्वाचनमा देउवापक्षको अघोषित असहयोग भयो, जसले कांग्रेस कमजोर शक्तिमा खुम्चिँदा रास्वपाको अभूतपूर्व उदय भयो ।

यस्तोमा देउवानिकट नेता खड्काले पार्टी एकता कायम राख्न सभापति गगन थापा गैरजिम्मेवार रहेको टिप्पणी गरेका छन् । उनले वीरेन्द्रनगरमै शनिबार भने, ‘पार्टी नेतृत्वमा अहंकार पलाएको छ ।’

गगन निकट ती नेता भन्छन्, ‘सभापति गगनले संयमता अपनाउनुपर्छ, पार्टीको असन्तुष्ट पक्षसँग संवाद गर्दै र उहाँहरूलाई पनि महाधिवेशन प्रक्रियामा लानुपर्छ र त्यसो भए गगनजी सर्वसम्मत सभापति बन्ने बाटो पनि खुल्छ, उहाँको राजनीतिक जीवनमा कुनै क्षति पुग्दैन तर उहाँले लचक र संयम रहनुपर्छ ।’

गत वर्षको पुस अन्तिम साता कांग्रेसको विशेष महाधिवेशन भएको थियो । महाधिवेशनबाट तत्कालीन सभापति शेरबहादुर देउवालाई थापाले अपदस्त गरे । यो मामिला निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्मै पुग्यो । दुवै निकायले थापा नेतृत्वको नेपाली कांग्रेसलाई पार्टीको आधिकारिता दियो ।

यसपछि देउवानिकट नेता पूर्णबहादुर खड्काले चलाइरहेको समानान्तर गतिविधि रोकेका थिए । सभापति थापासँग पार्टी एकताबद्ध राख्न पार्टीमा सम्मानजनक स्थान दिनुपर्ने बताएका थिए ।

यसमा सभापति थापा लचक भएका छैनन् । यस्तोमा नेता खड्काले पार्टी एकता कायम रहने सम्भावना कमजोर हुँदै गएको बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *