`

४५ अर्बबढी वैदेशिक लगानी,कुन-कुन क्षेत्रमा कति ?

Nepal One HD ३ जेठ २०८३ १२:४७
अर्थ समाचार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालमा ४५ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७२८ वटा परियोजनामार्फत कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

विभागका अनुसार चैत महिनासम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँको प्रतिबद्धता आएको थियो भने वैशाख महिनामा मात्रै थप ११३ परियोजनाबाट तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता थपिएको हो ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योग क्षेत्रमा देखिएको छ । यस क्षेत्रमा रहेका १६ परियोजनामार्फत २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

त्यस्तै, पर्यटन क्षेत्रमा १८९ परियोजनामार्फत १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ, सेवामूलक क्षेत्रमा ५५ परियोजनामार्फत चार अर्ब २३ करोड २४ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा ४२ परियोजनामार्फत दुई अर्ब ७० करोड रुपैयाँ तथा पूर्वाधार क्षेत्रमा एक परियोजनामार्फत एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

सूचना प्रविधि क्षेत्रमा भने ४२१ परियोजनामार्फत एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ऊर्जामूलक क्षेत्रमा दुई परियोजनामार्फत २३ करोड ४२ लाख रुपैयाँ तथा खनिज क्षेत्रमा दुई परियोजनामार्फत ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको वास्तविक प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो लगानी आठ अर्ब ९४ करोड रुपैयाँ थियो, जसअनुसार वास्तविक एफडीआईमा वृद्धि देखिएको छ ।

तर, नेपालमा लगानी प्रतिबद्धता ठूलो भए पनि वास्तविक रूपमा भित्रिने लगानी अपेक्षाकृत कम रहने गरेको तथ्यांकले देखाएको छ ।

साथै, नौ महिनाको अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ करोड ५० लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य कमी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *