जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन् ।
आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन-आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइसँगै वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्याएको उल्लेख गरिन् ।
उनका अनुसार राजनीति जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले जनताको विश्वासबाट निर्देशित हुनुपर्ने मान्यतालाई मदन भण्डारी र जीवराज आश्रितले अझ गहिरो रूपमा स्थापित गरेका थिए ।
भण्डारीले एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको उल्लेख गर्दै यसलाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताइन् ।
उनले भनिन्, ‘यसले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।’
