`

जसपा-लोसपा एकीकरण : त्रिपाठीको दुई बुँदे असहमतिले मिलेन कुरो

Nepal One HD ३ जेठ २०८३ १३:२१
बिशेष

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकीकरण प्रक्रियामा नेता हृदयेश त्रिपाठीले दुई बुँदे फरक मत राखेका छन् । उनले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको स्पष्ट पारेका छन् ।

त्रिपाठीले नेपाल जस्तो विविधतायुक्त देशमा हालको संसदीय प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै संवैधानिक संरचनामा आधारभूत परिवर्तन गर्ने विषयमा सावधानी अपनाउनुपर्ने उल्लेख गरेका छन् ।

उनका अनुसार ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली’ नेपाली कम्युनिस्ट विचारधाराबाट प्रभावित प्रस्ताव हो, जुन अल्पसंख्यक समुदायका लागि घातक हुन सक्ने उनको तर्क छ । त्यस्तै पूर्ण समानुपातिक निर्वाचन प्रणालीसँग पनि आफू सहमत हुन नसक्ने उनले स्पष्ट पारेका छन् ।

त्रिपाठीले भनेका छन्, ‘सैद्धान्तिक विषयमा स्पष्ट नभई एकता गर्नु आत्मघाती हुनेछ ।’

गत २४ मंसिरमा त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी (जप्रपा), वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र लोसपाबीच पार्टी एकीकरण भएको थियो । पछि पुसमा लोसपा र जसपा नेपालबीच पनि एकीकरण भएको थियो, जसलाई निर्वाचन आयोगले समेत मान्यता दिएको छ ।

त्रिपाठीका अनुसार जप्रपा र तमलोपाको पहलमा लोसपासँग एकीकरण प्रक्रिया अघि बढाइएको भए पनि पछि भएको जसपा-लोसपा एकीकरणमा आफू नेतृत्वको पार्टीलाई जानकारी नदिइएको उनको आरोप छ । यससँगै तमलोपा एकीकरण प्रक्रियाबाट बाहिरिएको पनि उल्लेख गरिएको छ ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी जसपा नेपालकै चुनाव चिह्न ‘ढल्केको छाता’ लिएर नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)-१ बाट उम्मेदवार बनेका थिए । उनले सो निर्वाचनमा ७ हजार ८२३ मत प्राप्त गरेका थिए ।

उनले निर्वाचन आयोगबाट एकीकरणलाई मान्यता दिइनु सकारात्मक पक्ष भएको पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *