`

ई–पेन्सन : शिक्षक अभिलेख अद्यावधिक गर्न किताबखानाको निर्देशन

Nepal One HD ३ जेठ २०८३ १४:००
विज्ञान-प्रविधि

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (शिक्षक) ले ई-पेन्सन प्रणालीलाई व्यवस्थित रूपमा लागू गर्ने तयारीसँगै देशभरका स्थायी शिक्षकहरूको व्यक्तिगत अभिलेख अद्यावधिक गर्न आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ।

किताबखाना (शिक्षक), छाउनी, काठमाडौंले २०८३ वैशाख ३० गते जारी गरेको सूचनामा सन् २०२३ अप्रिल १ देखि २०२५ असार मसान्तसम्म जन्ममिति भएका स्थायी शिक्षकहरूको विवरण अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइने उल्लेख छ।

सोही अनुसार सम्बन्धित शिक्षकहरूले आफ्ना आवश्यक कागजातहरूको प्रतिलिपि स्वयम् प्रमाणित गरी २०८३ जेठ ३० गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्नेछ। त्यसपछि ती एकाइहरूले संकलित विवरण नामावलीसहित २०८३ असार १५ गतेभित्र राष्ट्रिय किताबखानामा अनिवार्य रूपमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

किताबखानाले अभिलेख अद्यावधिकका लागि विभिन्न प्रकारका कागजात आवश्यक पर्ने जनाएको छ। तीमध्ये स्थायी नियुक्ति सम्बन्धी पत्र, सरुवा तथा रमाना पत्र, बढुवा सम्बन्धी कागजात, बिदा स्वीकृतिका विवरण तथा विभागीय कारबाहीसम्बन्धी पत्रहरू समावेश छन्।

त्यस्तै, जन्ममितिमा फरक देखिएमा एसईई (एसएलसी) को मूल प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र पनि पेस गर्नुपर्ने प्रावधान राखिएको छ।

कामु उपमहानिर्देशक गोविन्द प्रसाद अर्यालले हस्ताक्षर गरेको उक्त पत्रको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत पठाइएको छ। राष्ट्रिय किताबखानाले ई–पेन्सन प्रणालीलाई डिजिटल, व्यवस्थित र अभिलेखमैत्री बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *