नेपाली फिल्ममा डेब्यु गर्दै जापानी अभिनेत्री मीना योसिदा
काठमाडौं। सलोन बस्नेत र सलिनमान बनियाको शीर्ष भूमिका रहने फिल्म ‘युनिभर्सिटी अफ गुन्डाज’ छायांकन तयारीमा पुगेको छ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन साउन अन्त्यदेखि काठमाडौं, पोखरा, हेटौंडा लगायतका स्थानमा गरिनेछ ।
यसअघि सार्वजनिक टिजरमार्फत सलोन बस्नेत र सलिनमान बनियालाई मुख्य कलाकारका रूपमा प्रस्तुत गरिएको थियो ।
यसैबीच फिल्ममा नयाँ आकर्षणका रूपमा जापानी मूलकी अभिनेत्री मीना योसिदा शीर्ष अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छिन् । निर्माण पक्षसँग उनको लिखित सम्झौता भइसकेको छ ।
मीना योसिदा नेपाली भाषा राम्रोसँग बोल्न सक्ने भएकाले उनलाई मुख्य भूमिकाका लागि छनोट गरिएको बताइएको छ । उनी हाल नेपालमै रहेकी छिन् र अभिनय प्रशिक्षणसमेत लिइरहेकी छिन् ।
अभिनेता सलोन बस्नेतका अनुसार मीना योसिदासँग पहिलो भेट एक पार्टी कार्यक्रममा भएको थियो, जहाँबाट फिल्मबारे छलफल सुरु हुँदै सम्झौतासम्म पुगेको हो । उनले मीनाको अभिनय क्षमता र नेपाली भाषामा उनको पकड प्रभावशाली लागेको बताएका छन् ।
यो फिल्म मीना योसिदाको पहिलो फिचर फिल्म हुनेछ । सलिनमान बनियाले लेखेको कथामा आधारित फिल्मको निर्देशन सुरेश न्यौपानेले गर्नेछन् ।
निर्माण पक्षले अन्य कलाकार तथा प्राविधिक टोलीबारे भने अहिलेसम्म जानकारी सार्वजनिक गरेको छैन ।
