`

सभापति थापाले भने- मैले आज बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु (भिडियो)

Nepal One HD ३ जेठ २०८३ १५:४६
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक विवाद र ‘घर झगडा’ भन्दा बढी अहिले देशका ठूला समस्या समाधानतर्फ ध्यान दिनुपर्ने समय आएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वको प्राथमिकता व्यक्तिगत वा संगठनभित्रका विवाद नभई राष्ट्रिय मुद्दा हुनुपर्ने स्पष्ट पारे । उनले कांग्रेस सभापतिको भूमिकालाई बीपी कोइरालाको विचार र राजनीतिक विरासतसँग जोड्दै देशको वर्तमान अवस्थाबारे गम्भीर चिन्तन आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो । यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’

थापाले कांग्रेस लामो संघर्ष र बलिदानबाट बनेको पार्टी भएको उल्लेख गर्दै त्यसको उद्देश्य सधैँ लोकतन्त्र र नागरिक अधिकारको संरक्षण रहेको बताए । उनले लोकतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई नागरिकको स्वतन्त्रता, आत्मसम्मान र सहभागितासँग जोडिएको विषय भएको स्पष्ट पारे ।

उनका अनुसार पार्टीभित्रको छलफललाई आन्तरिक विवादमा सीमित नराखी देशका मूल समस्यामा केन्द्रित गर्नुपर्ने आवश्यकता छ । उनले पार्टीलाई जनतासँग पुनः जोड्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संगठनभित्र गहिरो छलफल आवश्यक रहेको बताए ।

‘मैले विशेष महाधिवेशन गर्नुपर्छ भन्दैगर्दा मेरो तर्क त्यही थियो, को हो नेपाली कांग्रेस ? कांग्रेस भनेर हामी संगठनको संरचनाभित्र बसेको मान्छे मात्रै हौं भन्न पाउँछौँ ?’ उनले प्रश्न गरे ।

सभापति थापाले कांग्रेसले पछिल्लो समय ठूलो संख्यामा शुभेच्छुक र समर्थक गुमाएको उल्लेख गर्दै ती वर्गलाई पुनः विश्वास दिलाउनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीको मूल भावना र आधारभूत उद्देश्यलाई पुनः स्थापित गर्दै जनतासँगको सम्बन्ध मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *