प्रधानमन्त्रीले नियतवश संसद्को अवहेलना गरे : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानाजानी संसद्को अवहेलना गरिरहेको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली कमजोरी वा अनुभवहीनताका कारण नभई नियतवश लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने दिशामा उन्मुख रहेको दाबी गरे ।
महामन्त्री पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र शक्ति सन्तुलनमाथि नै चुनौती सिर्जना गरिरहेको बताए ।
उनले ठूलो जनसमर्थनका साथ बनेको सरकार छोटो समयमै प्रश्नको घेरामा पर्नु गम्भीर चिन्ताको विषय भएको बताए । सरकारको कार्यशैलीले लोकतान्त्रिक संस्कार कमजोर बनाउँदै गएको उनको भनाइ थियो ।
पौडेलले सरकार अत्यधिक रूपमा केन्द्रिकृत बन्दै गएको आरोप पनि लगाए । उनका अनुसार राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण तथा विशेष अनुसन्धान जस्ता संवेदनशील निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाउने प्रयास भइरहेको छ । यसले राज्य संयन्त्रमा शक्ति सन्तुलन बिगार्ने खतरा बढाएको उनले बताए ।
त्यस्तै उनले संवैधानिक परिषद्को संरचनामा गरिएको परिवर्तनप्रति पनि आपत्ति जनाए । ६ सदस्यीय परिषद्मा ३ जनाले मात्रै बहुमत पुर्याएर निर्णय गर्न सक्ने व्यवस्था विश्वमै दुर्लभ अभ्यास भएको उनको दाबी थियो ।
उनले भने, ‘प्रधानमन्त्रीमा म नै सबैथोक हुँ भन्ने सोच हाबी हुँदै गएको छ । यस्तो प्रवृत्तिले अन्ततः लोकतन्त्रलाई कमजोर बनाउने खतरा हुन्छ ।’
महामन्त्री पौडेलले सरकारलाई समयमै संवैधानिक सीमाभित्र राख्न नसके लोकतान्त्रिक प्रणाली नै संकटमा पर्न सक्ने चेतावनी पनि दिए । राज्यको चरित्र लोकतान्त्रिक नभए नागरिकले दुःख पाउने र विधिको शासन कमजोर बन्ने उनले बताए ।
उनका अनुसार लोकतन्त्र केवल निर्वाचनमा सीमित नहुने भन्दै संसद्, संवैधानिक निकाय र शक्ति सन्तुलनको सम्मान गर्न नसकिए लोकतान्त्रिक अभ्यास कमजोर हुँदै जाने खतरा बढ्नेछ ।
