गाडीमा च्यापिएकी मोरङकी सवित्राको मृत्यु, चालक र सहचालक गम्भीर घाइते
काठमाडौं । तमोर कोरिडोरअन्तर्गत धनकुटाको चौविसे गाउँपालिका–४ मा टाटा विंगर गाडी दुर्घटना हुँदा गाडीमै च्यापिएकी महिलाको मृत्यु भएको छ । मृतक ४० वर्षीया सवित्रा ढुंगेल हुन् ।
उनको घर मोरङको सुन्दरहरैचा नगरपालिका–६ कि हो । सोमबार बिहान इटहरीदेखि पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९४९ नम्वरको टाटा विंगर गाडी अनियन्त्रित भएर पल्टिएको थियो । त्यस क्रममा ढुंगेल गाडीमै च्यापिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरद थापा क्षेत्रीका अनुसार उनको मृत अवस्थामा उद्धार गरिएको हो ।
दुुर्घटनामा सवारी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र सहचालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ का २२ वर्षीय दिपेन रसाईली गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई उचपारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । उक्त सवारीले २५ सय चल्ला बोकेको थियो ।
