`

गलत सूचनाप्रति परराष्ट्रले माग्यो माफी,इरानमा पक्राउ परेका अमृत झा अझै थुनामै

Nepal One HD ४ जेठ २०८३ १६:२२
प्रवास

काठमाडौं। इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा अझै थुनामै रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा झा रिहा भएको भन्दै यसअघि सार्वजनिक भएको सूचना गलत भएको र त्यसले अन्योल तथा असुविधा सिर्जना गरेको भन्दै माफी मागिएको छ।

मन्त्रालयका अनुसार इरानको क़ेश्म आइल्याण्डमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा झासहित केही व्यक्तिलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। उनीहरू हाल पुर्पक्षका लागि थुनामा रहेको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँको विषम परिस्थितिबीच नागरिकका विषयमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट आएको जानकारी तथा परिवारको अवस्थालाई ध्यानमा राख्दै सोही दिन रिहा भएको अनौपचारिक सूचना प्राप्त भएको भन्दै सार्वजनिक गरिएको थियो।’

तर पछि प्राप्त आधिकारिक जानकारीअनुसार अमृत झा रिहा नभएको र उनको मुद्दामा अदालतले विशेषज्ञ प्रतिवेदन माग गरेको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार विशेषज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रिया चलिरहेको छ। साथै, मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको र त्यहाँकै कानुनअनुसार टुंगो लाग्ने भएकाले निष्पक्ष सुनुवाइ तथा रिहाइका लागि कूटनीतिक पहल जारी रहेको पनि उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *