विदेशी महिलालाई गर्भवती बनाएर रास्वपा सांसद कार्की बेपत्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद कृष्णकुमार कार्की सोमबार दिउँसोदेखि एकाएक चर्चाको केन्द्रमा आएका छन् ।
अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि मोरङ–२ बाट निर्वाचित कार्कीलाई लिएर राजनीतिक वृत्तमा तरंग पैदा भएको हो ।
कार्कीबारे विवादास्पद समाचार सार्वजनिक हुनुअघि नै उनी तनावमा रहेको संकेत भने प्रतिनिधि सभा बैठकमै देखिएको थियो । सोमबार बिहान संसद् बैठक सुरु हुँदा श्रमसंस्कृति पार्टी का अध्यक्ष हर्कराज राई सहितका सांसदहरूले पहिलोपटक पम्प्लेटसहित रोस्ट्रम घेरेर प्रदर्शन गरेका थिए । संसदभित्रकाे उक्त दृश्यले केहीबेर बैठक तनावग्रस्त बनेको थियो ।
प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै सभामुख डोलप्रसाद अर्याल ले घुमाउरो शैलीमा कारबाहीको चेतावनी दिएका थिए । त्यसपछि उनले शून्य समयको कार्यसूची अघि बढाएका थिए ।
शून्य समयअन्तर्गत एमालेका समानुपातिक सांसद कृपाराम राना ले बोल्ने अवसर पाए । उनले सुशासनको नारा दिने शक्तिहरूले समेत पीडितलाई न्याय दिन नसकेको टिप्पणी गर्दै कञ्चनपुरको एक घटनाको प्रसंग उठाए । रानाको धारणा सकिएपछि सभामुखले शून्य समयमा बोल्न नाम टिपाएका सांसदहरूको सूचीअनुसार रास्वपाका सांसद कृष्णकुमार कार्कीलाई बोल्न आह्वान गरे ।
सभामुख अर्यालले “माननीय सदस्य कृष्णकुमार कार्की” भन्दै लगातार तीनपटक नाम उच्चारण गरे । तर संसद् बैठक कक्षमा कार्की उपस्थित थिएनन् । उनले बोल्नका लागि पहिले नै नाम टिपाएको भए पनि अन्तिम समयमा संसद्मा अनुपस्थित भएपछि त्यसले थप चासो पैदा गर्यो ।
संसद्को प्रचलनअनुसार शून्य वा आकस्मिक समयमा बोल्न सांसदहरूले बैठक सुरु हुनुअघि संसद् सचिवालय वा दलका सचेतकमार्फत नाम दर्ता गराउने गर्छन् । कार्कीले पनि त्यही प्रक्रिया पूरा गरेका थिए । तर सभामुखले तीनपटक बोलाउँदासमेत उनी नआएपछि अर्को सांसदको नाम बोलाएर कार्यसूची अघि बढाइएको थियो ।
कार्की अनुपस्थित भएपछि रास्वपाकै सांसद केपी खनाल ले बोल्ने अवसर पाए । उनले सुदूरपश्चिमको महत्वाकांक्षी आयोजना मानिएको सेती लोकमार्गको विषय उठाएका थिए ।
यता, संसद्मा कार्की अनुपस्थित भइरहेका बेला उनीमाथि लागेको आरोपसम्बन्धी समाचार सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको थियो । त्यसपछि उनी दिनभर चर्चाको केन्द्रमा रहे ।
कार्की यसअघि पनि विवादित गतिविधिका कारण चर्चामा आएका थिए । गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा नयाँबानेश्वरस्थित संसद् भवनमा आगजनी भएको घटनामा उनको प्रत्यक्ष संलग्नता सार्वजनिक भएको थियो । उनले संसद् भवनमा आगो लगाइएको भिडियो आफैं सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
कार्कीले संसद् भवनको कुर्सी जलाएको र नेताहरूका घरमा भएको आगजनीमा समेत संलग्न रहेको स्वीकारेका थिए । यति विवादित पृष्ठभूमिका बाबजुद रास्वपाले उनलाई मोरङ–२ बाट उम्मेदवार बनाएको थियो ।
प्रतिनिधि सभा निर्वाचनमा कार्कीले ४० हजार ९२४ मत ल्याएर विजय हासिल गरेका थिए । एमालेका दिलीपकुमार बगडिया दोस्रो र नेपाली कांग्रेस का मिनेन्द्र रिजाल तेस्रो स्थानमा सीमित भएका थिए । उनै कार्की विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएकाे समाचार साेमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेकाे थियाे ।
