`

ठगी प्रकरणमा लामिछानेसहित तीन जना पक्राउ

Nepal One HD ५ जेठ २०८३ १४:३८
अपराध

काठमाडौं। अनलाइन ठगीमा संलग्न रहेको आरोपमा गोरखाका एक वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका-२ का वडा सदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका–७ का यदु पाण्डे र भीमसेन थापा गाउँपालिका–४ की कोपिला लामिछाने रहेका छन् ।

रौतहटको चन्द्रनिगाहपुर-२ निवासी रेनुमाया थिङको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित थिङले ‘चिट्ठा परेको’ भन्दै विभिन्न बहानामा आफूबाट करिब ७० लाख रुपैयाँ ठगी गरिएको आरोप लगाएकी छन् ।

घटनापछि रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले गोरखाका सर्वसाधारणलाई कर्जा मिलाइदिने प्रलोभन देखाउँदै विभिन्न बैंकमा खाता खोल्न लगाउने गरेको खुलेको छ । विशेषगरी एनआईसी एसिया बैंक र गरिमा विकास बैंकका खातामार्फत ठगी रकम जम्मा र कारोबार गर्ने गरिएको देखिएको प्रहरीले जनाएको छ ।

‘गाउँलेलाई सहज रूपमा ऋण उपलब्ध गराइदिने भन्दै खाता खोल्न लगाइन्थ्यो । खाता खोलेबापत १०-१० हजार रुपैयाँ दिने गरिएको देखिएको छ,’ प्रहरी उपरीक्षक रिजालले भने ।

उनका अनुसार खोलिएका खातामा ठगीबाट प्राप्त रकम जम्मा गरी कारोबार सञ्चालन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि भीमसेन थापा गाउँपालिका–४ का स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले आफूहरूलाई भ्रममा पारेर बैंक खाता खोल्न लगाइएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रहरीले यस प्रकरणमा थप व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंकासहित अनुसन्धान जारी राखिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *